धीरेन्द्रप्रसाद साह
राजविराज, पुस १५ गते । सरकारी अस्पतालमा सञ्चालन भइरहेको सामाजिक सेवा एकाइ बिरामीका लागि वरदान साबित भएको छ । सरकारले गरिब, असहाय, विपन्न, लैङ्गिक हिंसापीडित, ज्येष्ठ नागरिकलगायतलाई दृष्टिगत गरी औषधोपचारमा आर्थिक सहयोग गर्ने उद्देश्यले सो एकाइ सञ्चालनमा ल्याएको हो । एकाइ सञ्चालन भएयता उपचारमा विशेष छुट पाउन थालेपछि लाभग्राहीको आकर्षण बढेको छ ।
ज्यालादारी मजदुरी गरी घरको दैनिक गर्जो टार्दै आउनुभएका राजकुमार खङ्ग बिरामी परेर उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल आउनुभयो । थोरै पैसा लिएर अस्पताल पुगेका खङ्गलाई स्वास्थ्य जाँचका लागि चिकित्सकले विभिन्न प्रयोगशाला जाँच लेख्नुभयो । खङ्गसँग भएको रकमले जाँच गर्न असम्भव थियो । अब के गर्ने/नगर्ने, उपचारबिना घर फर्किने सोच्दै गर्दा एक जना मानिसले सामाजिक सेवा एकाइमा सम्पर्क गर्न सुझाए । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ निवासी ४५ वर्षीय खङ्ग एकाइमा सम्पर्क गरेर त्यहाँबाट ८७५ रुपियाँ बराबर उपचारमा छुट पाएपछि उपचार गराएर हर्षित मुद्रामा घर फर्किनुभयो । खङ्गसँगै गत मङ्सिर २६ गते सोही पालिकाको वडा नं. १ निवासी २३ वर्षीय अमीर रामले पनि दुई हजार ६५ रुपियाँ बराबर उपचारमा छुट पाउनुभएको छ । उपचारमा रकम छुट पाएपछि उपचार सम्भव भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्यथा उपचार नगरी फर्किनुपथ्र्यो ।”
यस्तै ज्येष्ठ नागरिक जाकिर सेखले सामाजिक सेवा एकाइबाट दुई हजार ६९२ रुपियाँ बराबरको औषधोपचारको छुट पाउँदा निकै खुसी देखिनुभयो । राजविराज नगरपालिका–४ निवासी ९५ वर्षीय सेख गत मङ्सिर २९ गते अस्पतालको सो एकाइबाट उपचारमा छुट पाउनुभएको थियो । जीवनको उत्तरार्धमा रहेका सेखले उपचारमा छुट पाएकामा खुसी व्यक्त गर्दै भन्नुभयो, “बुढाबुढीको अस्पतालमा निःशुल्क उपचार हुन्छ भने सोचेको थिइनँ । ठुलो गुण लगाएको छ ।”
अस्पतालका सामाजिक सेवा एकाइले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मङ्सिरसम्म एक हजार ६४९ जना लाभग्राही बिरामीलाई सेवा प्रदान गरेको एकाइका प्रमुख सूर्यकान्त झाले जानकारी दिनुभयो । यस अवधिमा गरिब, असहाय, अपाङ्गता भएको बिरामीबाट सात लाख तीन हजार ४१७ रुपियाँ उपचार छुट माग थियो । त्यसमध्ये चार लाख ३० हजार ७४९ रुपियाँ बराबरको छुट प्रदान भएको उहाँले बताउनुभयो ।
एकाइबाट जेरियाट्रिक सेवा पाएकामध्ये १९ वर्षदेखि ४९ वर्ष उमेर समूहको सबैभन्दा बढी रहेको छ । एक पटक सेवा पाएर फर्केर बिरामी पुनः सेवा लिन आउनेको सङ्ख्या न्यून रहेको पनि एकाइले जनाएको छ । यस अवधिमा अहिलेसम्म २० जना मात्रले दोहो¥याएर सेवा लिएको प्रमुख झाले बताउनुभयो ।