• १० मंसिर २०८१, सोमबार

हेटौँडामा फोटो प्रदर्शनी हुने

blog

अनिल पराजुली

हेटौँडा, पुस १५ गते । मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि बागमती प्रदेशको राजधानी हेटौँडामा दुई दिने फोटो प्रदर्शनी गरिने भएको छ । हेटौँडाको बुद्ध चोकमा पुस २० र २१ गते फोटो प्रदर्शनी गरिने भएको हो । 

एक दर्जन फोटोग्राफरले खिचेका थाहा नगरको पर्यटकीय क्षेत्र,प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका करिब ६० वटा फोटोको प्रदर्शनी गरिने फरक सोचका संयोजक यादवजंग रायमाझीले बताउनुभयो ।

काठमाडौँबाट नजिक रहेको थाहामा पर्यटनको प्रचुर सम्भावना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले थाहा नगर लगायत आसपासको क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको विश्वास छ ।

थाहा नगरपालिकाको आयोजना एवं हेटौँडा उपमहानगरपालिका, नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखा र फोटो पत्रकार सङ्घ मकवानपुरको सहयोगमा तथा फरक सोच र शिखर क्लबको व्यवस्थापनमा प्रदर्शनी हुने भएको छ ।

थाहा नगरसँगै इन्द्र सरोवर गाउँपालिका आसपासका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा परिरहेको सन्दर्भमा आयोजना गर्न लागिएको फोटो प्रदर्शनीले यहाँको पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने आयोजकको भनाई छ ।