बाबुराम शर्मा
दोलखा, पुस १५ गते । थामी जातिको उद्गम थलो मानिएको दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पामा थामी सङ्ग्रहालयका केही संरचना निर्माण गरिएका छन् । राङराङथली निर्माण थालिएको थामी सङ्ग्रहालय वरपर गोलाकारमा तिलक पोखरीलगायतका संरचना निर्माण गरिएको छ ।
नगरका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन प्रमुख इन्जिनियर सुरेश राउतका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ३२ लाख ८८ हजार, २०७६/७७ मा ३० लाख र २०७७/७८ मा ७५ लाख गरी कुल एक करोड ३७ लाख रुपियाँको लगानीमा गोलाकारको तिलक पोखरी, पुल, खानेपानी, सडक, पिकनिक स्पोर्टलगायतका संरचना निर्माण भएका छन् । ओझेलमा परेको प्राचीन एवं ऐतिहासिकसमेत रहेको राङराङथलीको प्रचारप्रसार गरी पर्यटकमैत्री बनाउन गोडर खोला र गुम्फा आपोको बिच भागमा यो पोखरी तयार भएको छ । यो पोखरीले त्यहाँ पुग्ने सबैलाई लोभ्याउने गरेको छ । पोखरीमा गोडर खोला र गुफा रसाएर आएको पानीलाई प्रयोग गर्ने गरी डिजाइन तयार गरिएको छ । अहिले चरीकोट भ्यु टावरदेखि सिँढीसहित तयार गरिएको गोरेटो बाटो पनि पोखरीमै जोडिन्छ । यसले चरीकोटबाट भ्यु टावर पुग्नलाई थप एक घण्टा जङ्गलको बाटो झर्दा राङराङथली पुग्न सहज भएको छ । राङराङथलीमा अहिले पनि थामी जातिले परम्परागत भूमे पूजा गर्दै आएका छन् । पोखरीसँगै यहाँ नेपालकै पहिलो थामी सङ्ग्रहालय निर्माण हुन लागेको छ । २५ रोपनी क्षेत्रफलमा निर्माणाधीन सङ्ग्रहालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त बजेट छ करोड ८९ लाखमा चार करोड ४७ लाख रुपियाँमा ठेक्का सम्झौता भई काम थालनी भइसकेको जनाइएको छ ।
डिपिआर अनुसार सङ्ग्रहालयमा अत्याधुनिक क्यान्टिनसहितको कार्यक्रम गृह, भूमेस्थान, पाहुना घर, काउन्टरसहितको पालेघर, बाल बगैँचालगायत संरचना निर्माण गरिने छ । डिपिआर अनुसार जङ्गलमा बुर्कुसी मार्दै चरेका मृगको हुल, कालिज, डाँफे र जुरेलीको बथानले रुखको डाली चहारेका दृश्य सङ्ग्रहालयको अर्को विशेषता हुने जनाइएको छ ।