• २८ वैशाख २०८२, आइतबार

बिपी मार्गमा विद्युतीय रिचार्ज स्टेसन बढ्दै

blog

बाबुराम देवकोटा

खनियाखर्क (सिन्धुली), पुस १५ गते । बनेपा–सिन्धुली–बर्दीबास बिपी राजमार्गमा विद्युतीय रिचार्ज स्टेसन बढ्दै गएको छ । 

पूर्वी नेपालको तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा पछिल्लो समय वातावरणमैत्री विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै रिचार्ज स्टेसन बढ्दै गएको हो । १६० किलोमिटर लम्बाइको उक्त राजमार्गमा विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन तीन वर्षअघिसम्म तीन ठाउँमा मात्रै थियो । अहिले झन्डै डेढ दर्जन स्थानमा रिचार्ज स्टेसन स्थापना गरिएको छ । सो राजमार्गमा रिचार्ज स्टेसन बढेसँगै सवारीसाधन रिचार्ज गर्न सुविधा पुगेको व्यवसायी बताउँछन् ।

व्यवसायीका अनुसार बिपी राजमार्ग अन्तर्गत गौरीडाँडा, सिन्धुली बसपार्क, पानीट्याङ्की, मल्लागाउँ, चियाबारी, खनियाखर्क, खुर्कोट, मूलकोट, रामटार, आँपघारी, देवीस्थान, मङ्गलटारसहित डेढ दर्जन स्थानमा रिचार्ज स्टेसन स्थापना गरिएका छन् । रिचार्ज स्टेसन स्थापना गर्न विद्युत् प्राधिकरणले प्राथमिकतासाथ सहयोग गर्दै आएको छ ।

विद्युत् प्राधिकरण सिन्धुली शाखा वितरण केन्द्रका प्रमुख शिशिर लम्सालका अनुसार नेपालमा सबैभन्दा बढी विद्युतीय सवारीसाधन चार्ज गर्ने रुट बिपी राजमार्ग भएको छ । प्रक्रिया र मापदण्ड पूरा गरी रिचार्ज स्टेसन स्थापना गर्न आएका ग्राहकलाई प्राथमिकता दिएर प्राधिकरणले सहयोग गर्ने गरेको छ ।

उहाँका अनुसार बिपी राजमार्ग अन्तर्गत सिन्धुली बसपार्कमा एउटा र खुर्कोटमा दुई वटा विद्युत् प्राधिकरणले नै रिचार्ज स्टेसन स्थापना गरेको छ । प्राधिकरणको रिचार्ज स्टेसन आफैँले स्थापना गर्नेभन्दा निजी क्षेत्रबाट सङ्ख्या बढाउने नीति रहेको छ । प्रक्रिया र मापदण्ड पूरा गरेर आएका ग्राहकको फाइल रोकिएको छैन ।

रिचार्ज स्टेसन राख्ने ठाउँसम्म विद्युत् लाइन विस्तार र दुई सय केभीसम्मको ट्रान्समिटर जडान प्राधिकरणले निःशुल्क गर्दै आएको छ । गोलन्जोर गाउँपालिका–५, हिर्दिङका नेत्रकुमार थापाले बिपी राजमार्ग अन्तर्गत खनियाखर्कमा हालै रिचार्ज स्टेसन सञ्चालनमा ल्याउनुभएको छ ।

उहाँका अनुसार सबै खर्च जोड्दा २० लाख रुपियाँ जति लगानीमा रिचार्ज स्टेसन सञ्चालनमा ल्याइएको हो । होटल व्यवसायमा सहयोग पुग्ने लक्ष्यसाथ होटलकै अगाडि रिचार्ज स्टेसन सञ्चालन गरिएको थापाले बताउनुभयो ।

रिचार्ज स्टेसनमा ४० किलोवाट क्षमताको चार्जर जडान गरी तीन वटा नोजल जडान गरिएको छ । एक पटकमा तीन वटासम्म सवारीसाधन रिचार्ज गर्न सकिने व्यवसायी थापाले जानकारी दिनुभयो । दैनिक १५ वटासम्म गाडी रिचार्ज गरिँदै आएको थापाको भनाइ छ । 

सुनकोशी गाउँपालिका–५, रामटारमा रामहरि पौडेलले तीन वर्षदेखि विद्युतीय सवारीसाधनका लागि रिचार्ज स्टेसन सञ्चालन गर्दै आउनुभएको छ । व्यवसायी पौडेलले बिपी राजमार्गमा दैनिक बिहान गएको र बेलुका फर्किएका गरी ४१/४२ वटा सवारीसाधनमा रिचार्ज गर्दै आएको जानकारी दिनुभयो । 

दिगो कम्पनीको ५० प्रतिशत अनुदानमा १७ लाख रुपियाँ आफूले लगानी गरी उक्त चार्जर जडान गरेको व्यवसायी पौडेलले बताउनुभयो । कमलामाई नगरपालिका–६ का यातायात व्यवसायी टङ्क कार्कीले दुई वर्षदेखि दु्ई वटा विद्युतीय सवारीसाधन सञ्चालन गर्दै आएको बताउनुभयो । पछिल्लो समयमा राजमार्गका विभिन्न ठाउँमा रिचार्ज स्टेसन खुलेसँगै सवारीसाधन रिचार्ज गर्न सुविधा पुगेको उहाँको भनाइ छ ।

यातायात व्यवसायी कार्कीले भन्नुभयो, “पहिले सीमित ठाउँमा रिचार्ज स्टेसन हुँदा बाटोमा नै चार्ज सकिएर अलपत्र परिने हो कि भन्ने त्रास हुन्थ्यो । अहिले कुनै चिन्ता छैन । ढुक्कले हिँड्न पाइएको छ ।” उहाँले डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनभन्दा विद्युतीय सवारीसाधन वातावरणमैत्री र सञ्चालन खर्च सस्तो रहेको बताउनुभयो ।