राममणि दाहाल
हेटौँडा, पुस १५ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले गुरुङ जातिको महत्त्वपूर्ण पर्व तमु लोसारका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । हरेक वर्ष पुस १५ मा तमु अर्थात् गुरुङ जातिले हर्षोल्लासपूर्ण वातावरणमा तमु लोसार मनाउँदै आएका छन् ।
पर्वका अवसरमा आइतबार उहाँले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका यस समुदायका दाजुभाइ–दिदीबहिनी तथा समस्त नेपालीमा सुख,शान्ति र समृद्धिका लागि कामना गर्नुभएको हो ।
प्रमुख शर्माले गुरुङ समुदायले लोसारलाई तिब्बती पात्रो अनुसार नयाँ वर्षका रूपमा धूमधामका साथ मनाउने उल्लेख गर्दै यस दिनबाट चालु वर्गको अन्त्य र नयाँ वर्गको सुरुआत भएको मानिने बताउनुभयो । ‘यो समुदायमा आजबाट बिरालो वर्गको समाप्त भई गरुड वर्गको आगमन भएको मानिन्छ ।’ प्रदेश प्रमुखको शुभकामना सन्देशमा उल्लेख छ ।