• १३ मंसिर २०८१, बिहिबार

मेलको खुदोले बजार खोज्दै

blog

शेरबहादुर सार्की

बाजुरा, पुस १५ गते । बाजुराको बुढीनन्दा नगरपालिका–८, पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बनाउने काम सुरु गरेका छन् । असोजदेखि मङ्सिर महिनासम्म बुढीनन्दा नगरपालिकाको मेलापात वन जङ्गलमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट यहाँका स्थानीय महिलाले खुदो बनाउने गरेका हुन् ।

पाकेको मेलबाट बनेको खुदोले गाईभैँसी र भेडाबाख्रालगायतका जनावरलाई आउँमासी झाडापखाला तथा दिसापिसाबमा रगत आउने रोगलाई निको पार्ने भएकाले पछिल्लो समय यहाँका महिलाले मेलको खुदो पार्ने गरेको बुढीनन्दा नगरपालिका–८, खिन्तुरी रोकायाले बताउनुभयो ।

बुढापाखाले तमाखुमा हालेर खाने गरेकाले गाउँघरमा भने केही मात्रामा मात्र बिक्री हुने गरेको भए पनि बाहिर भने कतै माग नभएको रोकायाले बताउनुभयो । असोजदेखि मङ्सिरसम्म पाक्ने गरेको यो मेल अहिले पनि गाउँमा त्यत्तिकै खेर गइरहेको छ । खाँदा गुलियो र स्वादिलो हुने मेल मानव स्वास्थ्यका लागि समेत निकै उपयोगी छ तर यसको प्रयोग भने कमै हुने गरेको छ ।