• १३ मंसिर २०८१, बिहिबार

बाँझो जमिन भाडामा लिएर खेती

blog

राधा नेपाली 

सन्धिखर्क, पुस १५ गते । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले बाँझो जमिन भाडामा लिई स्थानीय उत्पादनलाई वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गरेको छ । १४५ रोपनी बाँझो जमिन खनजोत गरी हाल प्याज खेती गरिएको छ ।  बढ्दो बसाइँसराइले गाउँका जमिन बाँझो हुनुका साथै बेरोजगारी बढेको भन्दै रोजगारीको सिर्जना र आर्थिक उत्पादन वृद्धि गरी आत्मनिर्भर नगरपालिका बनाउन बाँझो जग्गा उपयोगको कार्यक्रम ल्याइएको नगर प्रमुख झविलाल थापाले बताउनुभयो । नगरपालिकाले बाँझो रहेका जग्गाधनीसँग सम्झौता गरी पहिलो चरणमा प्याज खेतीको सुरुवात गरेको हो । 

चालु आवमा करिब ७० केजी बिउबाट बेर्ना तयार भएको छ । कर्मशील जनशक्ति परिचालनमार्फत उत्पादित वस्तुको बजारीकरण गरिने थापाको भनाइ छ । खेतीका लागि सूचीकृत बेरोजगारहरू परिचालन गरिएको छ । जस अनुसार ७२ ‘कर्मशील जनशक्ति’ ले रोजगार पाएका छन् । 

नगरपालिकाको ढिकुरास्थित डेभा, असुरकोट दुर्वाङ, ढाकावाङ खाकाबेँसी र डुम्रीचौरमा खेती सुरु गरेको छ ।  पहिलो चरणमा खेतीका लागि नगरपालिकाले ५० लाख रुपियाँ विनियोजन गरेकामा ३० लाख रुपियाँ खर्च भइसकेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले बताउनुभयो । आगामी वर्ष यो कार्यक्रमलाई वृद्धि गरिने भएको छ ।