• ३० वैशाख २०८१, आइतबार

बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल । फाइल तस्बिर ।

काठमाडौं, पुस १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका दोषीलाई कारबाही हुने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले सो घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने जानकारी गराउनुभएको हो ।

उहाँले सो घटनामा कमजोरी देखाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पिएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको पनि जानकारी दिनुभयो । शनिबारबाट काठमाडौँमा सुरु भएको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री दाहालले सो घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताउनुभयो । 

यस्तै, प्रधानमन्त्री दाहालले इपिएस परीक्षामा सहभागी हुन नपाएको विद्यार्थीहरूले पनि परीक्षामा सहभागी हुन पाउने कुरा अदालतले जानकारी दिएपछि परिस्थितिलाई सहज बनाउन सबैलाई आह्वान गर्नुभयो । प्रधानमन्त्री दाहालले सो घटनामा अदालतको पनि केही कमजोरी देखिएकोमा दुख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, "हिजोको बालकुमारी घटनाको बारेमा गम्भीर रूपले अनुसन्धान हुनुपर्छ, दोषीलाई कारबाही गर्नुपर्ने प्रक्रिया र सरकारले चाल्नुपर्ने कदमको बारेमा हिजो म यस्तो होला भन्ने त थिएन । आकस्मिक रूपमा यो घटना आयो । मन्त्रीजीको पिएसओले परिस्थितिको राम्रो आङ्कलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटि भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ ।" 

त्यसैगरी, गोली चलाउन आदेश दिनेमा पनि त्रुटिपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिर्पोट नआउँदासम्म निलम्बन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले मृतक र मृतकका परिवारलाई राहत दिने र दोषीलाई कारबाही गर्ने वातावरण सहज गर्ने समेत जनाउनुभयो । 

यस्तै, प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीको विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै देशभित्रै रोजगारी अवसर सृजना हुनेगरी आर्थिक समृद्धि नयाँ अभियान चलाउनेतिर सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले श्रमिक मैत्री नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाएर लैजान सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो । 

उहाँले भन्नुभयो, "वैदेशिक रोजगारीको विषयमा हामी सबै संवेदनशील छौँ । हामी देशभित्रै रोजगारी सृष्टि गर्ने, देशभित्रै आर्थिक समृद्धिको नयाँ अभियान चलाउनेतिर नै ध्यान केन्द्रित गर्नुपर्दछ। मलाई विश्वास छ, आउने दिनमा हामी सबैले एकीकृत ढङ्गले त्यो दिशामा प्रगति गर्नेछौँ । हामीले फेरी पनि देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत जनतालाई समृद्धिको भरोसा दिलाउने, समृद्धिको सम्बोधन गर्ने कुरामा एकजुट हुनुको विकल्प छैन ।"