काठमाडौं, पुस १३ गते । प्रहरीले बहुमुल्य मुगा मालाहरु चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार काठमाडौंको कोटेश्वर बालकुमारीस्थित देवीकृष्ण चौलागाईको डेरा कोठामा कोही नभएको समयमा कोठाको पछाडि पट्टीको भ¥याङबाट भित्र प्रवेश गरी बहुमुल्य मुगाका मालाहरु, सुनको सिक्री दुई तोला गरी २४ लाख ८४ हजार रुपियाँ बराबरको धनमाल चोरी गर्ने पाँच जनालाई पक्राउ गरिएको छ ।
उहाँका अनुसार स्थायी घर सर्लाही भइ हाल काठमाडौं बालुवाखानी बस्ने १९ वर्षीय आकाश थोकर तामाङ, झापाका ५१ वर्षीय खेमप्रसाद न्यौपाने, सिन्धुपाल्चोकका ३७ वर्षीय राजकुमार थापा भन्ने लवन थापा, नुवाकोट घर भइ हाल भक्तपुर बस्ने ४३ वर्षीय रामबहादुर तामाङ र उदयपुरका ४० वर्षीय कपिल तामाङलाई गौरीघाटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
उनीहरुसहित मुगा माला २४ थान र विभिन्न कम्पनीका मोबाइल ६ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।