• १४ मंसिर २०८१, शुक्रबार

सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

blog

मुख्यमन्त्री केदार कार्की। फाइल तस्बिर

ललिता साह 

बोदेवर्साइन (सप्तरी) पुस १२ गते। देशमा सङ्घीयता र लोकतन्त्रलाई स्थापित गर्नको निम्ति संविधान प्रदत्त अधिकार प्रदेशलाई दिनुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताउनुभएको छ।

अन्तरप्रदेशीय सम्मेलनमा सहभागी हुन हेटौँडा जानेक्रममा मुख्यमन्त्री कार्की बिहीबार सप्तरीका सञ्चारकर्मीसँग औपचारिक भेटघाट गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। 

देशमा विभिन्न आन्दोलनका बाबजुद प्राप्त अधिकारलाई संस्थागत गर्ने हाम्रो जिम्मेवारी हो। अब विकास र समृद्धि ल्याउनको लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ तर यहाँ संविधानले इङ्गित गरेका अधिकार दिन कन्जुस्याइँ गर्दै आएका छन् । हामी प्रदेश सरकारका मुख्यमन्त्रीहरूले आफ्नै अधिकार लिनको लागि बारम्बार सङ्घ सरकारसँग सङ्घर्ष र खबरदारी गर्नुपरेको विडम्बना छ । सङ्घीयता र प्रादेशिक संरचनाप्रति सङ्घ सरकार जिम्मेवार नभएको मुख्यमन्त्री कार्कीले आरोप समेत लगाउनुभएको छ।

सङ्घीय राज्य पुनसंरचनाको प्रसङ्गमा बोल्नुहुँदै मुख्यमन्त्री कार्कीले भौतिक, भौगोलिक, शैक्षिक, आर्थिक , राजनीतिक तथा कोशीको पानीको बहावसँगै निर्मल नागरिक सम्बन्ध विराटनगरसँग अर्थात् कोशी प्रदेशसँग सप्तरी जिल्लाको घनिष्ठ रहँदै आएकोले सप्तरीको विकासको लागि भएपनि संरचनागत हिसाबले सप्तरी जिल्लालाई कोशी प्रदेश अन्तर्गत नै राख्नुपर्ने मुख्यमन्त्री कार्कीको सुझाव रहँदै आएको छ।