गोरखापत्र अनलाइन
ललितपुर, पुस १२ गते। सामुदायिक रेडियो तथा वातावरण पत्रकारितामार्फत वातावरण संरक्षणको अभियानमा क्रियाशील पत्रकार अष्टमान किसी महर्जनको निधन भएको छ । गोदावरी नगरपालिका–१४ ठैब, बाँडेगाउँका ६० वर्षीय महर्जनको उपचारका क्रममा बिहीबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार महर्जन केही वर्षयता मिर्गौला र कलेजोसम्बन्धी समस्याले थलिनुभएको थियो । रेडियो, टेलिभिजन र छापा पत्रकारितामा आबद्ध उहाँ २०५२ मा युवा जागरण पर्यावरणीय मञ्चमार्फत छापा पत्रकारितामा जोडिनुभएको थियो । महर्जनले वातावरण, पर्यावरण, दिगो विकासका मुद्दालाई जोड दिंदैआउनुभएको थियो ।
तत्कालीन एफएम १०० मेगाहर्जबाट रेडियो पत्रकारिता सुरु गर्नुभएका महर्जनले २०६० मा बाँडेगाउँमा आफ्नै स्वामित्वको रेडियो पर्यावरण चक्र र चार वर्षअघि (२०७६ माघमा) पर्यावरण टेलिभिजन स्थापना गर्नुभएको थियो । उहाँ नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका पूर्व कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी पनि निर्वाह गर्नुभएको थियो ।