काठमाडौं, पुस १२ गते । सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे पार्टी बाधक नबन्ने बताउनुभएको छ ।
बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता मीनबहादुर विश्वकर्माले गठबन्धनका दलका शीर्ष नेतासँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्नसक्ने बताउनुभएको हो । उहाँले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शीर्ष नेतासँगको परामर्शबाट गर्नसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको हो । संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय व्यवस्था हो । प्रधानमन्त्रीय प्रणाली हो, प्रधानमन्त्रीले आफूलाई असहज भएमा गठबन्धनको सरकार भएको हुनाले गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीलाई जुनसुकै बेलामा हेरफेर गर्नसक्ने प्रावधानलाई कांग्रेस अवरोध बन्दैन ।’’
बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रस्ताव पेस गर्नुभएको बताउनुभयो । प्रस्तावमा पार्टीको साङ्गठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा कांग्रेस कार्यक्रम, मन्त्रालयका कार्य सम्पादन भएका विषयमा मन्त्रीको धारणा सुन्ने र त्यसमाथि छलफल सुरु गर्ने काम भएको जानकारी दिनुभयो ।
उहाँले बैठकमा राष्ट्रिय सभा सदस्य उम्मेदवार मनोनयन, साङ्गठनिक विषय लगायतका विभिन्न पाँच वटा विषयमा छलफल भएको बताउनुभयो । आजको बैठकमा पार्टीबाट सहभागी मन्त्रीमध्ये स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले सरकारमा गरेका कामकारबाहीबारे जानकारी गराउनुभएको छ । अन्य मन्त्रीले शुक्रबारको बैठकमा जानकारी गराउने तालिका रहेको छ ।
बैठकमा राष्ट्रिय सभामा सदस्यको चयन गर्दा पार्टीले सबैलाई न्याय गरोस् भन्ने धारणा सदस्यले राखेको बताउनुभयो ।