नयाँदिल्ली, पुस १२ गते । नयाँदिल्लीस्थित इजरायली दूतावास बाहिरी क्षेत्रमा विस्फोट भएको सूचनापछि अर्धसैनिक बल दूतावास बाहिरको क्षेत्रमा तैनाथ गरिएको छ ।
प्रहरीका अनुसार दूतावासमा दुई दिन पहिले विस्फोट भएको भन्ने खबर प्रहरीलाई आएपछि प्रहरी त्यहाँ पुगेको हो । दूतावास क्षेत्र वरिपरि बिहीबार आवतजावत प्रतिबन्धितको साथै अर्धसैनिक बलहरूको तैनाथी गरेको दृश्यहरू देखिएका छन् ।
दिल्ली प्रहरीलाई मङ्गलबार चाणक्यपुरी कूटनीतिक क्षेत्रस्थित इजरायली दूतावास नजिकै ‘विस्फोट’ भएको फोन आएको थियो । तर अधिकारीहरूले घटनास्थलमा त्यस्तो केही नभेटिएको बताएका थिए । विस्फोट भएको सूचनासहितको फोन दिल्ली फायर सर्भिसले साँझ छ बजे प्राप्त गरेको थियो ।
बुधबार घटनाको छानबिन गर्न राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) लाई खटाइएको थियो । अनुसन्धानका लागि दिल्ली प्रहरीले सिसिटिभी फुटेज जाँच पछि दुई ‘सन्दिग्ध’ लाई नियन्त्रण गरेको छ । यद्यपि अधिकारीहरूले उनीहरूको संलग्नता भने पुष्टि गरेका छैनन् ।
स्रोतका अनुसार मङ्गलबार साँझ इजरायली दूतावास नजिकै घुमिरहेका दुई व्यक्ति ‘विस्फोट’ घटनाका शङ्कास्पद व्यक्तिका रूपमा देखापरेका छन् ।
स्रोतका अनुसार ‘सिसिटिभी फुटेजमा दुईजना व्यक्तिहरू घटनाको समयमा उक्त क्षेत्रमा घुमिरहेका देखिन्छन् । घटनामा उनीहरूको भूमिका भने अझै प्रष्ट हुन सकेको छैन । थप अनुसन्धानपछि उनीहरू घटनाको समयमा त्यस क्षेत्रमा के गर्दै थिए प्रष्ट हुनेछ ।
प्रहरीले सन्दिग्ध व्यक्ति कसरी त्यहाँ पुगे र के गरे भन्ने पत्ता लगाउन वरपरका सिसिटिभी जाँच गरिरहेको छ । प्रहरीले उनीहरूको पहिचानको लागि पनि प्रयास गरिरहेको बताएको छ ।
दिल्ली प्रहरीले मङ्गलबार साँझ ‘विस्फोट’ बारे जानकारी सम्बन्धमा इजरायल दूतावास नजिकै राजदूतलाई सम्बोधन गरेको पत्र फेला पारेको छ ।
“इजरायली दूतावासलाई अङ्ग्रेजीमा लेखेको पत्रमा धम्कीपूर्ण शब्दहरू प्रयोग गरिएको थियो । चिठीमा नाम लेखिएको समूह सर अल्लाह रेजिस्टेन्सको खोजी भएको स्रोतले बताएको छ । रासस/एएनआई