• ११ मंसिर २०८१, मङ्गलबार

कक्षा कोठा अभावले विद्यार्थीलाई सास्ती

blog

मालिका आधारभूत विद्यालयमा भवनको छतमा बसेर परीक्षा दिँदै विद्यार्थी । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, पुस १२ गते । कालीकोटको रास्कोट नगरपालिका–३ कोलीकागाउँमा रहेको मालिका आधारभूत विद्यालयमा कक्षा कोठा अभाव हुँदा विद्यार्थीलाई पठनपाठनमा सास्ती भएको छ । 

कक्षा कोठा अभाव हुँदा विद्यार्थी छत तथा चौरमा बसेर परीक्षा दिनेगरेका छन् । विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । विद्यार्थी अनुपातअनुसारका कक्षा कोठा नभएकाले विद्यालयको एक मात्र भवनको छतमा विद्यार्थी राखेर परीक्षा लिनेगरेको छ ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमनाथ योगीले भवन अभावका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समस्या भइरहेको बताउनुभयो । ‘हामीले पटक–पटक माग गरिरहेका छौँ । नगर सरकारले हाम्रो कुरा नसुनेर अहिले यस्तो हालत छ’ छतमा बसेर परीक्षा दिइरहेका विद्यार्थीलाई देखाउँदै अध्यक्ष योगीले गुनासो गर्नुभयो । 

अर्धवार्षिक परीक्षा दिइरहेका विद्यार्थीको यस्तो अवस्था देखेर आश्चर्य मान्दै नगर सरकारको ध्यान नजानु दुखद भएको प्रतिक्रिया दिनुभयो । वडा ३ का वडा अध्यक्ष राजेन्द्रनाथ योगीले आफू मालिका आधारभूत विद्यालयको भवनका लागि कार्यपालिका बैठकमा धेरै पटक कुरा गरेपनि काम नभएको बताउनुभयो ।