• ८ असार २०८१, शनिबार

स्थानीय सरकार नागरिकको समस्यासँग प्रत्यक्ष जोडिनुपर्छ : मन्त्री गुरुङ

blog

चापाकोट नगरपालिका-६ मोहमीमा भएको स्वास्थ्य शिविरको शुभारम्भ कार्यक्रममा मन्त्री गुरुङ ।

राधाकृष्ण डुम्रे

वालिङ, पुस १२ गते । नेपाल सरकारका सङ्घीय मामिला न्याय तथा कानुन मन्त्री धनराज गुरुङले स्थानीय सरकार नागरिकको समस्यासँग प्रत्यक्ष जोडिनुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभयो, “देशमा सङ्घीयतामा गई सकेपछि स्थानीय तहलाई धेरै अधिकार र जिम्मेवारी प्राप्त भएको छ, स्थानीय तह नागरिकसँग निरन्तर जोडिनुपर्दछ ।” 

चापाकोट नगरपालिकाले वडा ६ को मोहमीमा निःशुल्क स्वास्थ्य शिविर तथा योजना सम्झौता कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री गुरुङले नागरिकको शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि निरन्तरता लागि रहेको बताउनुभयो । 

चापाकोट नगरपालिकाले गाउँमै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्ने अभियान सुरु गरेको हो । बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकका स्वास्थ्य सम्बन्धी समस्या गाउँमै समाधान गर्न सुरु गरिएको चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँण (ईश्वर) ले जानकारी दिनुभयो ।

नागरिकलाई सहज होस भनेर स्वास्थ्यकर्मी सहितको टोली गाउँमा पुगेको उहाँले बताउनुभयो । स्वास्थ्य शिविरसँगै योजना सम्झौता पनि गर्न सुरु गरिएको प्रमुख खाँणको भनाइ छ । चापाकोटका सबै वडामा स्वास्थ्य शिविर र योजना सम्झौता शिविर सञ्चालन हुने उहाँको भनाइ छ ।

शिविरमा निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्स–रे, ई.सी.जी, आँखा परीक्षण, दन्त परीक्षण, परिवार नियोजनका लागि सहजीकरण र रगत, दिसा पिसाब परीक्षण भइरहेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले बताउनुभयो ।