• ८ असार २०८१, शनिबार

सङ्घीयता कार्यान्वयनको सुरुवात सन्तोषजनक छ : मुख्यमन्त्री जम्कट्टेल

blog

अनिल पराजुली

हेटौँडा, पुस १२ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टलले सङ्घीयता कार्यान्वयनको सुरुवात सन्तोषजनक रहेको बताउनुभएको छ । आज हेटौँडामा भएको तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीयतासँगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागरण भएको स्पष्ट पार्नुभयो । 

सङ्घीयताले जनतालाई अधिकार माग गर्ने चेतना दिएको बताउँदै उहाँले संविधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएको कारण निराशा हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । संघियतासँगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागरण भएको उहाँको भनाइ छ ।

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रममा गाउँपालिका महासङ्घ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्रदेश र स्थानीय तह एक भएर संविधानको कार्यान्वयनमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारलाई अब सिक्दै जाने छुट नभएको भन्दै संघीयताको मर्म र भावना अनुरुप काम गर्नुपर्ने बताउनुभयो । जनताले तीन तहको सरकारको अनुभूति गर्न नसकेको कारण पनि अधिकार बाँडफाँटसँगै अक्षरस कार्यान्वयनमा तत्कालै जानुपर्नेमा उहाँले जोड दिनुभयो । 

त्यस्तै, नगरपालिका महासङ्घ नेपालका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले सङ्घीयताले दिएको अधिकारको पूर्ण कार्यान्वयन हुँदा समृद्ध राज्य निर्माण हुने बताउनुभयो । तीन तहको सरकार एकअर्कामा गुनासो गर्दै बस्दा त्यसको असर राज्यमा पर्ने भएकोले समन्वय गरेर तत्काल कार्यान्वयनमा लानुपर्ने उहाँको भनाइ छ । 

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्य सचिव घनश्याम उपाध्यायले सातै प्रदेशका सरोकारवाला बिचको छलफलले सङ्घीयता कार्यान्वयनमा थप बल पुग्ने विश्वास लिनुभएको छ । कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको सहभागिता छ । मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रबार साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम छ ।