• ८ असार २०८१, शनिबार

वैतेश्वरका ग्रामीण सडक धमाधम ढलान हुँदै

blog

ढलान गरिँदै ग्रामीण सडक । तस्बिर सुजन काफ्ले

सुजन काफ्ले
चरीकोट, पुस १२ गते ।
जिल्लाको वैतेश्वर गाउँपालिकाभित्रका मुख्य ग्रामीण सडक धमाधम ढलान गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ लाई जोड्ने मुख्य ग्रामीण सडक ज्यामिरे बगर सडक र वडा नम्बर–६ को नाम्दु घिमिरेटार सडकको पहिलो चरणको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

वैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारको अनुदान सहयोगमा मैनापोखरी ज्यामिरे–बगर सडकको ढलानको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका सब इन्जिनियर विश्वास घिमिरेले बताउनुभयो । उक्त सडक निर्माण गर्न वैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारले चालु वर्ष ५०÷५० लाख बजेट विनियोजन गरेको थियो । सडकको ढलान कार्य गाउँपालिकाले ठेक्कामार्फत गरिरहेको छ । यस सडकखण्डमा पहिलो चरणमा करिब साढे पाँचसय मिटर सडक ढलान हुने सबइन्जिनियर घिमिरेले बताउनुभयो ।

गाउँपालिका–६ को नाम्दु घिमिरेटार सडकमा बागमती प्रदेशको २५ लाख अनुदानमा दुई सय मिटर ढलान सम्पन्न भएको उहाँको भनाइ छ । यसैगरी, पालिकाको ५० लाख र बागमती प्रदेशको ५० लाख अनुदानमा अस्पताल– पाँडुडाँडा सडक र वडा नम्बर– ६ र ७ लाई जोड्ने च्यानडाँडा–छाप सडकमा पनि ढलान गर्नका लागि तयारी थालिएको गाउँपालिकाले जनाएको छ । च्यानडाँडा–छापसडक ढलानका लागि पनि पालिका र प्रदेश सरकारको ५०÷५० लाख बजेट विनियोजन गरिएको छ ।

नाम्दु–पाँडुडाँडा सडक ढलान गर्न सङ्घीय सरकारको ७५ लाख अनुदान पालिकाले एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । पालिकाले पुराना चार सडक गोपी–जोरमाने सडक, बुस्ती–पुतलीकाठ सडक, देउराली–क्षत्रपा सडक ढलान गर्न प्रति सडक दुई करोडको दरले ढलान गर्न ठेक्का लगाइसकेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । सडकमा ढलान गर्न सुरु गरेसँगै पालिका अध्यक्ष लामा र उपाध्यक्ष कल्पना उप्रेतीले अनुगमनलाई तीव्रता दिनुभएको छ ।

पालिकाले यस वर्ष करिब ९ किलोमिटर सडक ढलान गर्ने योजना बनाएको अध्यक्ष लामाले बताउनुभयो । पालिकालाई ५ वर्षभित्र हिलोमुक्त बनाउने अभियानअन्तर्गत धमाधम स्थानीय सडक तथा ग्रामीण गोरेटो बाटो निर्माण गर्ने कार्यलाई तीव्रता दिएको वैतेश्वर गाउँपालिका योजना शाखा प्रमुख वासुदेव दहालले जानकारी दिनुभयो । पालिकाले चालु वर्ष ९ किलोमिटर पक्की सडक र साढे पाँच किलोमिटर गोरेटो बाटो निर्माण गर्ने जनाएको छ ।