• १२ पुस २०८१, शुक्रबार

सुनकोशी–मरिण डाइभर्सन : निर्माणमा तीव्रता

blog

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ । उक्त आयोजनाको कुल १३.३ किलोमिटर लम्बाइको सुरुङमध्ये हालसम्म १०.५ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । त्यस्तै सुनकोशी नदीमा बाँध निर्माण कार्य भर्खर सुरु भएको छ । उक्त आयोजनाको सुरुङ २०७९ साल असोजदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो । 

आयोजनाका प्रमुख मित्र बरालका अनुसार तोकिएको समय अवधि २२ महिनामा १३.३ किलोमिटर लम्बाइको उक्त सुरुङ निर्माण गर्ने लक्ष्य रहेको छ । “तोकिएको समयावधिभन्दा अगाडि १९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सुरुङको काम भइरहेको छ,” उहाँले भन्नुभयो, “टनेल बोरिङ मेसिन (टिबिएम) बाट सुरुङ निर्माण कार्यका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले ठेक्का पाएर काम गरिरहेको छ । सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपियाँमा ठेक्का पाएको छ ।”

सुरुङभित्र पहिरो गई टिबिएम मेसिन थिचेकाले अहिले भने सुरुङ निर्माणको काम रोकिएको छ । आयोजना प्रमुख बरालका अनुसार सुरुङ खन्ने क्रममा चुरे र महाभारत क्षेत्र कटेर करिब सुनकोशी क्षेत्रमा प्रवेश गरेपछि मङ्सिर १३ गते सुरुङभित्र पहिरोले टिबिएम मेसिन थिचेपछि काम रोकिएको हो ।

“सुरुङको दायाँबायाँ र माथिबाट चट्टान तथा पाउडर जस्तो ‘फिलाइट’ माटो झरेर टिबिएम मेसिन थिचेको छ,” उहाँले भन्नुभयो, “पहिरोका कारण यो चौथो पटक टिबिएम मेसिन रोकिएको हो ।” यसअघि पहिलो पटक सात दिन, दोस्रो पटक नौ दिन र तेस्रो पटक २९ दिन टिबिएम मेसिन पहिरो, हिलो लेदो तथा धुलो पाउडर खसेर सुरुङ निर्माणको काम रोकिएको थियो । 

यसअघि अवरुद्ध टिबिएम मेसिन सञ्चालन गर्न १० मिटर चौडाइ र आठ मिटर हाइटको बाइपास बनाएर काम सुचारु गरेको उहाँको भनाइ छ । “यो सुरुङभित्रको भौगर्भिक समस्या हो,” उहाँले भन्नुभयो, “तर यस पटक भने पहिरो पन्छाउन कठिन भएको छ । बाइपास बनाइरहेका छौँ । त्यसपछि विभिन्न विधि र केमिकल अपनाएर अरू प्रयास गर्छौं । अबको केही दिनमा काम सुचारु हुन्छ कि भन्ने आशा छ ।” उक्त मेसिनद्वारा दैनिक २५ मिटरदेखि ३८ मिटरसम्म टनेल खन्ने गरिएको थियो । टिबिएम मेसिनले पानी बग्ने ५.५ डायमिटर रहने गरी अहिले ६.६ डायमिटरको सुरुङ खनिरहेको छ । 

सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माणको काम यही मङ्सिरदेखि सुरु भएको आयोजना प्रमुख बरालले सुनाउनुभयो । आयोजनाका अनुसार उक्त बाँध निर्माणका लागि पटेल–रमण जेभीले चार वर्षमा सम्पन्न गर्ने गरी १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा २०७९ साल माघमा सम्झौता गरेको छ ।

सुनकोशी नदीमा पानीको बहाव बढेकाले बाँध निर्माण समयमै हुन नसकेको आयोजना प्रमुख बरालको भनाइ छ । उहाँले भन्नुभयो, “फागुन लागेपछि हिउँ पग्लिने भएकाले सुनकोशीमा पानी बढ्छ, बिचमा वर्षाको मौसम । बाँध निर्माणको काम कात्तिक÷मङ्सिरदेखि सुरु भई वर्षको छ महिना जति हुन्छ ।” २०८४ साल असोजमा आयोजनाको पूरै काम सक्ने योजनाले निर्माण भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकामा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड ३१ लाख रुपियाँ पुगेको उहाँले बताउनुभयो । सुनकोशीमा बाँध निर्माण गर्दा बिपी राजमार्गको ९६५ मिटर सडक डुबानमा पर्ने र त्यसलाई स्थानान्तरण गरिने आयोजनाले जनाएको छ । 

सुनकोशी नदीमा बाँध निर्माण गरेपछि उक्त सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यहाँ ६६.२९ मिटर ग्रसहेडबाट पानी झारेर ३१.७ मेगावाट विद्युत् उत्पादन गरिने छ । मरिण खोलामा पानी खसालेपछि त्यही पानी प्रयोग गरी थप ४० देखि ५० मेगावाट विद्युत् निकाल्ने गरी नयाँ अवधारणा ल्याई अध्ययन भइरहेको आयोजनाले जनाएको छ ।

उत्पादित विद्युत् ३७.२ डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नवलपुर सबस्टेसनमा जोडिने छ । आयोजना अन्तर्गत सुनकोशीमा ब्यारेज निर्माण हुने छ भने विद्युत्गृह, सर्जसाफ्ट, स्विचयार्ड, सुरुङमार्ग, निर्माण मुख्य भौतिक संरचना रहेका छन् । आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएको आयोजना २०८५÷८६ सम्ममा सक्ने लक्ष्य रहेको छ । सुनकोशीको पानीलाई सुरुङमार्फत मरिण खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पु¥याउने र बागमती सिँचाइ आयोजनाले हाल सिँचाइ भइरहेको ४५ हजार छ सय हेक्टर जमिनसहित मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा वर्षभरि नै सिँचाइ सुविधा पु-याउने मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

यस आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माण तथा जडान कार्य अन्तर्गत सोको लागत अनुमान तयारी कार्य भइरहेको छ भने १३२ केभी ट्रान्समिसन लाइन निर्माण कार्य निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण कार्य भइरहेको छ । 

यस आयोजना अन्तर्गत नै मरिण खोला नियन्त्रण कार्य अन्तर्गतको प्याकेज–१ (दुई किलोमिटर) को तटबन्ध निर्माणका लागि निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भइइकेको आयोजनाले जनाएको छ । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सामाजिक दायित्व तथा वातावरणीय सुधारका कार्यक्रम अन्तर्गत ब्यारेजको डुबान क्षेत्र र मरिण खोला (कुसुमटार) मा निर्माण हुने पावर हाउस क्षेत्रमा नदी नियन्त्रण, सडक, सिँचाइ कुलो, लिफ्ट सिँचाइ, खानेपानीलगायतका कार्यक्रम आवश्यकता अनुसार सञ्चालन गर्ने योजना रहेको पनि बताएको छ ।   

Author

बाबुराम देवकोटा