सिराज खान
नेपालगन्ज, पुस ९ गते । बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकाका ज्येष्ठ नागरिकलाई रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउने आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका –३ भवनीयापुरमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य सेवा प्रवर्धन कार्यक्रम अन्तर्गत १७८ जना ज्येष्ठ नागरिकलाई सो औषधि वितरण गरिएको हो ।
राप्तीसोनारी गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा ज्येष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य सेवा प्रवर्धन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले १७८ जना ज्येष्ठ नागरिकलाई अश्र्वगन्धा, आमलकी चुर्ण, दसमूल लगायतका इम्युनिटी पावर बढाउने खालका औंषधि वितरण गर्नुभयो ।
उहाँले सो अवसरमा ९४ जना ज्येष्ठ महिला र ८४ जना ज्येष्ठ पुरुषलाई सो औषधि वितरण गर्नुभयो । सो कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जाँचसँगै स्वास्थ्यवर्धक औषधि वितरण गरिएको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख अञ्जना थारुले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको स्वास्थ्यका लागि पालिकाले स्वास्थ्य सेवा प्रवर्धन कार्यक्रम आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।
राप्तीसोनारी गाउँपालिकाले त्यसका लागि चालु आर्थिक वर्षमा १५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । स्वास्थ्य शाखाले पाँच र पालिकाले १० गरी १५ लाख रुपियाँ बजेट केन्द्रले प्राप्त गरेको थारुले बताउनुभयो ।
स्वास्थ्य सेवा प्रवर्धन कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई रोग प्रतिरोधी औषधि वितरण गरिएकोमा वडाका अधिकांश ज्येष्ठ नागरिक खुशी देखिएको वडा ३ का वडा अध्यक्ष मीनबहादुर चौधरीले बताउनुभयो ।