• १८ असार २०८१, मङ्गलबार

तुइन खोला पुल निर्माण

मुग्लिन–नारायणगढ सडक दैनिक चार घण्टा बन्द

blog

तुइन खोलामाथिको कडा चट्टान । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, पुस ९ गते । नारायणगढ–मुग्लिन सडक खण्डमा रहेको तुइन खोलामा पुल निर्माण गर्न गत शनिबारदेखि दैनिक चार घण्टा सडक बन्द गर्न सुरु गरिएको छ । 

गत वर्ष विस्फोटक पदार्थ प्रयोग गर्ने निर्णय गरी रोकिएको उक्त काम पुनः एक पटक मेसिनकै सहायताले फुटाउन सुरु गरिएको हो । केही दिनअघि बिहान ११ बजेदेखि अपरान्न ३ बजेसम्म चार घण्टा सडक बन्दगरी काम गर्ने निर्णय गरिएको भए पनि शनिबार मात्र सो निर्णयअनुसार काम गरिएको र आइतबारदेखि मध्यान्ह १२ बजे देखि चार बजेसम्म बन्द गर्ने सूचना टाँसगरी सोहीअनुसार काम सुरु गरिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) आयोजनाका सूचना अधिकारी कृष्ण अधिकारीका अनुसार तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि सवारी रोकेर काम सुरु गरिएको हो । कठिन भीरमा कडा चट्टान काट्नु पर्ने भएकाले सवारी नरोकी काम गर्न नसकिने हुनाले सडक बन्द गर्नुपरेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार अर्को सूचना जारी नहुँदासम्म पुस महिनाभर दैनिक चार घण्टा सवारी साधन रोकेर उक्त काम नियमित गरिनेछ । यो अवधिमा काम प्रगति के कस्तो हुन्छ त्यसको आधारमा त्यसपछिको काम कसरी गर्ने भन्ने निर्णय गरिने उहाँले बताउनुभयो ।


मध्यान्ह १२ बजे काम सुरु हुनेभएकाले चितवनतर्फ नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधनलाई १५ किलो भन्ने स्थानदेखि जुगेडीसम्म र मालवहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोक्ने गरिएको छ ।

काठमाडौँबाट चितवनतर्फ आउने सवारी साधनमध्ये यात्रुवाहकलाई मुग्लिन बजार र मालवाहकलाई लेवाटारमा रोक्ने गरिएको छ । त्यस्तै, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई मुग्लिनपूर्व बेनीटार क्षेत्रमा र मालवाहक सवारी साधनलाई आबुँ खैरहनी बजारक्षेत्र प्रवेशपूर्व सत्रसय फाँटमा रोक्ने गरिएको छ ।