विजयकुमार साह
ढल्केवर, पुस ९ गते । मधेश प्रदेश सभा सदस्यलाई दक्षता अभिवृद्धि तालिम दिइएको छ । महिला तथा सीमान्तकृत समुदायका समस्यालाई सम्बोधन तथा कार्यान्वयन गराउने उद्देश्यले सो तालिम दिइएको हो ।
शान्तिका लागि साझा अभियान (कोक्याप) मधेश प्रदेश सचिवालय जनकपुरको आयोजनामा जनकपुरमा शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको सो तालिममा दलित तथा सीमान्तकृत समुदायका छ जना महिलासहित २० जनाभन्दा बढी प्रदेश सभा सदस्यको सहभागिता थियो ।
महिला तथा सीमान्तकृत समुदायका समस्यालाई प्रदेश सभामार्फत प्रदेश सरकार र सङ्घीय सरकारसम्म कसरी पुर्याउने र त्यसलाई कसरी कार्यान्वयन गराउने विषयमा तालिम सञ्चालन गरिएको आयोजक संस्थाका प्रभात भट्टले बताउनुभयो ।
तालिममा संसदीय अभ्यास, संविधानले दिएको अधिकार, संसदभित्र हुने क्रियाकलाप, शून्य र विशेष समयमा समुदायका समस्यालाई कसरी छोटो मिठो शैलीमा सम्बोधन गर्ने विषयमा पनि तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।