गुणबहादुर रोका
सुलीकोट, पुस ९ गते । गोरखामा कृषि पर्यटन तथा व्यापार मेला २०८० हुनेभएको छ । गोरखा चेम्बर अफ कमर्सले पुस १९ गतेबाट गोरखा सदरमुकाममा कृषि पर्यटन तथा व्यापार मेला हुन लागेको जनाएको हो ।
१९ गतेबाट सुरु हुन लागेको मेलामा जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासमा टेवा पुग्ने र कृषिलगायत स्थानीय उत्पादनको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसाथ मेला आयोजना गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताउनुभयो ।
मेला स्थलभित्र १२५ वटा विभिन्न प्रकारको स्टल रहने आयोजक संस्थाका महासचिव विष्णु राना मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ११ स्थानीय तहलाई १५ वटा, आदिवासी जनजातिका लागि मिनी सङ्ग्रहालय १, घरेलु उत्पादन तथा स्थानीय परिकार र होटेल तथा व्यापार प्रयोजनका लागि अन्य स्टलहरू रहने छन् ।
११ दिनसम्म चल्ने मेलामा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा करिब ५ करोड बराबरको कारोबार पनि हुने विश्वास गरिएको छ । गोरखाका स्थानीय उत्पादनलाई प्रोत्साहन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखामा सहजरुपमा भित्र्याउन यो मेला आयोजना गरिएको उहाँको भनाइ छ ।
करिब ३५ लाख रुपियाँ खर्च हुने मेलामा यस पटक भने जिपलाइन र स्टलमा ड्रोन प्रयोग गर्न लागेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको आयोजक संस्थाले जनाएको छ ।
मेलाको पहिलो दिन विभिन्न जातजातिको भेषभुषामा झाँकी, विभिन्न जातजातिका सांस्कृतिक झाँकी र सङ्घ संस्थाको पहिचान झुल्कने गरी ब्यानरसहितको र्याली हुने गोरखा चेम्बर अफ कमर्सले जनाएको छ ।
यसअघि चेम्बर अफ कमर्सले गोरखा बजारमा व्यापार व्यवसायमा चलायमान होस् भन्ने उद्देश्यसाथ चाडपर्वलक्षित सस्तो दसैँ मेला र एक वटा कृषि तथा व्यापार प्रवर्द्धन मेला सम्पन्न गरिसकेको छ ।