• १२ मंसिर २०८१, बुधबार

सिरानचोक गाउँपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

blog

गुणबहादुर रोका 

सुलीकोट, पुस ९ गते । गोरखा जिल्ला स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ । जिल्ला सदरमुकामस्थित रङ्गशाला खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कांस्य पदक सहित सिरानचोक गाउँपालिकाले उपाधि जितेको हो । 

प्रतियोगितामा सिरानचोकले कुल १६ पदक हात पारेको छ । त्यस्तै, प्रतियोगितामा पालुङटार नगरपालिकाले ८ स्वर्ण, ३ रजत र ४ कांस्य पदक सहित दोस्रो हुन सफल भएको छ। पालुङटार नगरपालिकाले कुल १५ पदक जितेको छ । बारपाक सुलीकोट गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ४ कांस्य पदक सहित तेस्रो हुन सफल भएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार आरुघाट गाउँपालिकाले प्रतियोगितामा २ स्वर्ण पदक सहित ८ रजत र ३ कांस्य पदक जितेको छ । प्रतियोगितामा १३ पदक जितेर आरुघाट गाउँपालिका चौँथो हुन सफल भएको हो । गण्डकी गाउँपालिकाले २ स्वर्ण, ७ रजत र ३ कांस्य पदक, अजिरकोट गाउँपालिकाले २ स्वर्ण, २ रजत र ४ कांस्य पदक, गोरखा नगरपालिकाले २ स्वर्ण, र ३ कांस्य पदक, भीमसेन थापा गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कांस्य सहित कुल ५ पदक जितेको छ । 

त्यसैगरी, सहिदलखन गाउँपालिकाले ३ कांस्य पदक, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाले १–१ कांस्य पदकमा चित्त बुझाएको छ । प्रतियोगितामा सहभागी पालिका मध्ये चुमनुब्री गाउँपालिकाले पहिलो पटक राष्ट्रपति रनिङशील प्रतियोगितामा सहभागिता जनाएको हो । 

प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो हुन सफल पालिकाहरूले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । गोरखामा ११ वटा पालिकाहरूले सहभागिता जनाएका थिए ।