• २७ वैशाख २०८२, शनिबार

संसार देख्न पाउँदा ज्येष्ठ नागरिक दङ्ग

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, पुस ९ गते । सिन्धुलीको तीनपाटन गाउँपालिका–३ निवासी ७१ वर्षीय चन्द्रबहादुर तमाङलाई मोतीबिन्दुको शल्यक्रिया गरी उपचार गरेपछि नयाँ जीवन पाएसरह भएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित रेडक्रस आँखा केन्द्रमा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा शनिबार उहाँको आँखाको शल्यक्रिया भएको थियो । आँखाको शल्यक्रिया गरेसँगै संसार देख्न पाउँदा निकै खुसी लागेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “आँखाको बिमारले सात वर्षदेखि पीडित थिएँ । राम्रोसँग आँखा नदेख्दा भनेको ठाउँमा जान नसक्ने, लडिने, अल्मलिने समस्या थियो । बुढेसकाल लागे पनि अहिले जुनी फेरे जत्तिकै भएको छ ।” त्यस्तै उक्त शिविरबाट आँखाको उपचार गर्नुभएका कमलामाई नगरपालिका–६ निवासी ७५ वर्षीय लोकबहादुर कार्की पनि खुसी हुनुहुन्छ । “दाहिने आँखा नदेखेको सात महिना भएको थियो,” उहाँले भन्नुभयो, “भएको देब्रे आँखाले पनि राम्रोसँग काम गर्दैनथ्यो । अहिले दाहिने आँखाको उपचार गर्न पाउँदा निकै खुसी लागेको छ ।” नेपाल रेडव्रmस सोसाइटी जिल्ला शाखाले गाउँमा सञ्चालन गरेको आँखा शिविरबाट छनोट भई मोतीबिन्दुको शल्यव्रिmया गरेको उहाँले जानकारी दिनुभयो ।  जिल्लाका १० ठाउँमा आँखाको शिविर चलाएर छनोट भएका ३१८ जना मोतीबिन्दुका बिरामीको यही पुस ६ र ७ गते सदरमुकाम सिन्धुलीमाढीस्थित रेडक्रस आँखा केन्द्रमा शल्यव्रिmया गरिएको उक्त शाखाले जनाएको छ । जिल्ला शाखा सभापति अशोक श्रेष्ठले दुधौली नगरपालिका, कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिकामा आँखा शिविर सञ्चालन गरी शल्यक्रिया गर्नुपर्ने आँखाका बिरामी फेला पारेको जानकारी दिनुभयो ।

उहाँका अनुसार तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, जानकी आँखा अस्पताल जनकपुर, कमलामाई नगरपालिका, दुधौली नगरपालिका र तीनपाटन गाउँपालिकालगायतका कार्यालयको प्राविधिक तथा आर्थिक सहयोगमा आँखा शिविर आयोजना भएको हो । शिविरबाट ज्येष्ठ नागरिक, विपन्न समुदायका आँखाका बिरामीलाई फाइदा पुगेको शाखा सभापति श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “जहाँ आवश्यक छ, त्यहाँ आँखाको शिविर सञ्चालन गरी मोतीबिन्दु भएका बिरामी खोज्छौँ र उनीहरूको निःशुल्क आँखाको अपरेसन गरी उपचार गर्छौं ।” आँखाको शिविर सञ्चालन गरेको ठाउँमा आवश्यकता अनुसार निःशुल्क औषधी र चस्मा पनि वितरण गर्दै आएको उक्त शाखाले जनाएको छ ।