• २७ वैशाख २०८२, शनिबार

सात वर्षमा पनि बनेन पुल

blog

केदार तिमल्सिना 

बनेपा, पुस ९ गते । काभ्रेपलाञ्चोक जिल्ला र मकवानपुर जिल्लालाई सडक सञ्जालले जोड्ने उद्देश्यले बागमती नदीको सिक्रोदोभानमा पुल निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । काभ्रेपलाञ्चोक र मकवानपुरलाई सडक सञ्जालले जोड्न तत्कालीन जिल्ला विकास समिति मकवानपुरले आर्थिक वर्ष २०७३/७४ मा काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बागमती गाउँपालिका–५ लाई जोड्ने गरी पक्की पुल निर्माणको काम अघि बढाएको थियो ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले दुई वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले सात वर्षसम्म पनि पूरा नगर्दा काभ्रेपलाञ्चोकको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती बेहोर्नुपरेको बताउनुभयो । पुल निर्माण भएपछि दुई गाउँपालिकाका नागरिक प्रदेश राजधानी पुगेर काम सम्पन्न गरी साँझ घर आइपुग्ने अवस्था बन्ने बताउँदै गाउँपालिका अध्यक्ष थिङले पुल निर्माण भएपछि खानीखोला र महाभारत गाउँपालिकाका नागरिकलाई किनमेलका लागि समेत सदरमुकाम धुलिखेलभन्दा हेटौँडा नजिक हुनुका साथै दुई घण्टामा खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गाबाट प्रदेश राजधानी पुगिने बताउनुभयो । 

पुल निर्माणको ठेक्का पाएको महादेव-शिखर-तामाकोशी जेभीले समयमा कामसम्पन्न नगरेपछि पछिल्लो एक वर्षदेखि प्रदेश सरकारले ताकिता गर्दै आएको छ । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले पुल निर्माण स्थलको अनुगमन गर्दै आउनुभएको छ । पुल अनुगमनका लागि सिक्रोदोभान पुग्नुभएका मन्त्री दुलालले चालु आवभित्र पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । “सात वर्षअघिदेखि ठेक्का लागेर ‘क्रोनिक’ अवस्थामा रहेको बागमती नदीस्थित सिक्रोदोभान पुललाई समयमा नै सम्पन्न गर्न गत वर्षबाट प्रदेश सरकारले निरन्तर ताकिता गर्दै आएको छ,” मन्त्री दुलालले भन्नुभयो । उहाँले प्रदेश सरकारले पुराना ठेक्का चालु आवभित्र निर्माण सम्पन्न गर्ने या ठेक्का तोड्ने भन्ने विषयमा बजेटमा नै घोषणा भएको बताउँदै जिम्मा पाएको निर्माण व्यवसायीलाई समयमा नै निर्माण सम्पन्न गर्ने चुनौतीसमेत रहेको बताउनुभयो । उक्त पुल निर्माणका लागि महादेव-शिखर-तामाकोशी जेभीसँग भ्याटबाहेक ११ करोड ६५ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । 

ठेकेदारको आफ्नै गुनासो 

सिक्रोदोभानमा पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनीका सञ्चालकले तत्कालीन जिविसले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाएका कारण पुल निर्माणको काममा ढिलाइ भएको जनाएका छन् । निर्माण व्यवसायी खड्ग गोपालीले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएको र ठेक्का लागेपछि पहिलेको ठाउँभन्दा माथि पुल बनाउनुपर्ने र अप्ठ्यारो स्थान भएकाले काममा ढिलाइ भएको बताउनुभयो । उहाँले पुल निर्माण हुने स्थानसम्म जानका लागि साढे पाँच किलोमिटर सडक खन्ने क्रममा पुल निर्माण गर्ने दुई वर्षको समय सकिएको बताउनुभयो । 

अर्का निर्माण व्यवसायी विजय थापाले तत्कालीन जिविस खारेज भएपछि १० महिना अन्योल रहेका कारण पनि पुल निर्माणको काम समयमा नै सुरु गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले हाल मकवानपुरतर्फको पिल्लर उठाउने, नदीको बिचमा पाइलिङको काम र काभ्रेपलाञ्चोकतर्फ बस्ने पिल्लरको पाइलिङको काम सुरु भएको भन्दै हालसम्म पुल निर्माणको ३० प्रतिशत काम सकिएको बताउनुभयो । उहाँले फागुन मसान्तसम्म पिल्लर उठाउने काम सकेर मकवानपुरतर्फको एउटा स्ल्याब ढलान गर्ने बताउनुभयो । उहाँले आगामी असार मसान्तभित्र पुल निर्माण पूरा हुने बताउँदै हालसम्म पाँच किलोमिटर सडक ट्र्याक निर्माणबापतको सवा दुई करोड रुपियाँ प्राप्त गर्न नसकिएको गुनासो गर्नुभयो । सडक निर्माणबापतको रकम माग गर्न पटक पटक पूर्वाधार विकास कार्यालय चितवन गए पनि जुन कार्यालयले सडक खन्ने अनुमति दिएको हो उसैसँग रकम माग गर्नुपर्ने भनी बिल लिन नमानेको निर्माण व्यवसायी थापाले गुनासो गर्नुभयो ।