• २७ वैशाख २०८२, शनिबार

अप्ठ्यारोमा जनतालाई सरकारले सहयोग गर्छ : मन्त्री श्रेष्ठ

blog

मकवानपुरको मनहरीमा वनकरीयालाई जाडोका लागि न्यानो सिरक वितरण कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, पुस ९ गते । 
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले सरकार जनताको अभिभावक भएकाले जनतालाई अप्ठ्यारो परेको बेला सहयोग गर्ने बताउनुभएको छ । मकवानपुरको मनहरिमा वनकरीयालाई जाडोका लागि न्यानो सिरक वितरण गर्नुहुँदै उहाँले देशको सबै नागरिकप्रति सरकारले समान व्यवहार गर्ने स्पष्ट पार्नुभयो ।

‘‘सबैलाई संविधानले बराबरी अधिकार दिएको छ, संविधानतः सरकारले सबैलाई समान व्यवहार गर्नुपर्छ,’’मन्त्री श्रेष्ठले भन्नुभयो ।  आर्थिक रूपमा विपन्न, लोपोन्मुख, सीमान्तकृत समुदायहरूलाई सरकारले विशेष अभिभावकत्व प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बागमती प्रदेशभित्र बसोबास गर्ने लोपोन्मुख, वनकरीया, हायु र अति सीमान्तकृत जातीलाई जाडोमा उहाँहरूको घरमा न्यानो भित्रियोस् भनेर तातो ओढ्ने फाइबर सिरक वितरण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मकवानपुर र सिन्धुली जिल्लाको सीमान्तकृत र लोपोन्मुख समुदायलाई न्यानो ओढ्ने (फाइबर सिरक) वितरण गरेको छ । मन्त्रालयको चालु आर्थिक वर्षको विपद् गैर खाद्य सामग्री कार्यक्रमअन्तर्गत थामी, हायु, वनकरीयालाई न्यानो कपडा वितरण गरिएको हो ।

प्रदेश सरकारले सिन्धुलीको घ्याङलेख–२ बस्तीपुरमा ९३ घरधुरी थामी समुदायलाई १८६ थान, सिन्धुलीको कमलामाई–१ कोप्चेको हायु जातीका १२० घरधुरीलाई २४० थान पाइवरको सिरक वितरण गरेको थियो । त्यस्तै, सिन्धुली मरिण–७, थामीगाउँका ५१ घरधुरीका १०२ जना र मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ४ मुसेधापका लोपोन्मुख वनकरीया २२ घरधुरीलाई ४४ थान पाइवरको सिरक वितरण गरिएको छ ।