• १३ असोज २०८१, आइतबार

कक्षामा छैनन् विद्यार्थी

blog

खोटाङ समाचारदाता 

खोटाङ, पुस ९ गते । खोटाङको एक सामुदायिक विद्यालयमा विद्यार्थी नहुँदा कक्षाकोठा खाली छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयको कक्षा २ खाली रहेको छ ।    

कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा चालु शैक्षिक सत्रमा ११ जना विद्यार्थी भर्ना भएका थिए । कक्षा १ मा १० जना र कक्षा ३ मा एक जना विद्यार्थी भर्ना भएका हुन् । कक्षा २ मा भने कोही पनि विद्यार्थी भर्ना भएनन् । १० जना भर्ना भए पनि अहिले कक्षा १ मा छ जना विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक लोकबहादुर कार्कीले बताउनुभयो । भर्ना गरिए पनि अन्य विद्यार्थीको उमेर सानै रहेकाले उनीहरू विद्यालय नियमित आउन नसकेको उहाँको भनाइ छ । कक्षा २ मा कोही पनि विद्यार्थी नभएपछि कक्षा ३ को एक जना र कक्षा १ को छ जनालाई एउटै कोठामा राखेर पठनपाठन गराइरहेको प्रधानाध्यापक कार्कीले बताउनुभयो । 

राजापानीको साबिक वडा नम्बर १ थुम्की र त्यस वरिपरिका विद्यार्थीलाई अन्य विद्यालय जान टाढा भएपछि अभिभावकले विसं २०६३ मा देउसीभैलो खेलेर थुम्कीमा विद्यालय स्थापना गरेका थिए । सुरुवाती दिनमा विद्यार्थी अत्यधिक हुने गरेको यस विद्यालयमा अहिले कक्षाकोठा खाली हुन थालेको हो । गाउँवासी बसाइँसराइ गरेर अन्यत्र गएकाले पनि विद्यार्थी कम भएको प्रधानाध्यापक कार्कीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यस गाउँमा क्षेत्री समुदायका मानिस प्रायः बसाइँ सरिसके दुई÷तीन घर बाँकी छन् । उनीहरू पनि बसाइँ सर्ने योजनामा छन् । विद्यालयमा प्रायः मगर समुदायका विद्यार्थी मात्र छन् । उनीहरू पनि नियमित हुन सकेका छैनन् ।”

विद्यालयको भवन पनि जीर्ण हुँदै गएको छ । अहिले नगरपालिकाले प्रदान गरेको  १० लाख रुपियाँ बजेटबाट एकतले चारकोठे भवन निर्माण गरिएको छ । शिक्षकको सरुवापछि करिब डेढ वर्ष कार्यालय सहयोगीले मात्र सञ्चालन गरिरहेको विद्यालयमा अहिले प्रधानाध्यापक कार्कीलाई नगरपालिकाले खटाएको हो । विद्यालय भवन निर्माणसँगै शिक्षकको व्यवस्था पनि भएको छ तर विद्यार्थी घट्दै छन् । उक्त विद्यालयलाई अन्य विद्यालयसँग समायोजन गर्ने अवस्था पनि नरहेको नगरपालिकाले जनाएको छ । अन्य विद्यालयमा पुग्न त्यस गाउँका बालबालिकालाई दुई÷तीन घण्टासम्म लाग्ने भएकाले विद्यालय सञ्चालन गरिरहनुपर्ने बाध्यता रहेको नगर शिक्षा शाखा संयोजक पदम कार्कीले बताउनुभयो । 

खोटाङका अन्य सामुदायिक विद्यालयको पीडा पनि यस्तै छ । विशेष गरी कक्षा ३ एवं कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयका कक्षाकोठा खाली हुने अवस्थामा छन् । रावाबेँसी गाउँपालिका–२, खार्पा रुभुङस्थित पञ्चकन्या आधारभूत विद्यालयको दुई वटा कक्षाकोठामा एक÷एक जना मात्र विद्यार्थी छन् । कक्षा २ र ४ मा एक जना मात्र विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक पुष्प राईले बताउनुभयो । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङस्थित वसन्तपञ्चमी प्राथमिक विद्यालयमा तीन वटा कक्षामा एक÷एक जना मात्र विद्यार्थी अध्ययनरत छन् । कक्षा १, कक्षा ३ र कक्षा ४ मा एक जना मात्र विद्यार्थी अध्ययनरत रहेका हुन् । यस्तै सोही नगरपालिकाको वडा नम्बर ६ नेर्पास्थित नेर्पा प्राविमा कक्षा १, २, ३ र ४ सबैमा एक÷एक जना मात्र विद्यार्थी छन् । चार वटै कक्षामा एक÷एक जना मात्र विद्यार्थी भएपछि अहिले उनीहरूलाई एउटै कक्षामा राखेर पठनपाठन गरिएको प्रधानाध्यापक नवराज घिमिरेले बताउनुभयो ।  

जिल्लाका अन्य प्रायः सबै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घटिरहेको छ । अभिभावकको निजी विद्यालयप्रतिको मोह, बसाइँसराइ र कम बच्चा जन्मनु सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको प्रमुख कारण हो । कतिपय सामुदायिक विद्यालयका शिक्षकले नै आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउँछन् । प्रायः राजनीतिकर्मी, कर्मचारी र आर्थिक अवस्था राम्रो हुनेका छोराछोरी निजी विद्यालयमा पठनपाठन गरेको पाइन्छ । आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरी मात्र अहिले गाउँघरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन् ।