• १२ असोज २०८१, शनिबार

‘नागरिकको हितमा केन्द्रित भएका छौँ’

blog

सर्लाही समाचारदाता

सर्लाही, पुस ९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नागरिकको हित अनुकूलका कामलाई प्राथमिकता दिइरहेको बताउनुभएको छ । 

सर्लाहीको कर्मैयामा माओवादी केन्द्रका अगुवा कार्यकर्तासँगको भेटमा उहाँले नागरिकका समस्या समाधान र देशको समृद्धितर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको हो । उहाँले सरकारले एक वर्षको कार्यकालका समीक्षा गर्दै आगामी दिनमा थप नागरिक केन्द्रित कार्यव्रmम घोषणा गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले बागमती सिँचाइ आयोजनाको अवस्थाबारे पनि जानकारी लिनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगै सिमरातर्फ लाग्नुभएको छ । उहाँहरूले लालबन्दी–१२, जियाजोरमा हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको कामको अनुगमन गर्ने बताइए पनि समय अभावका कारण त्यहाँ पुग्न नसकेपछि कर्मैयाबाटै उक्त आयोजनाको कामबारे जानकारी लिनुभएको छ । 

राष्ट्रिय गौरवको यस आयोजनाको जियाजोर क्षेत्रमा प्रहरीको सहयोग लिएर टावर राख्नका लागि खाल्डो खन्ने काम जारी छ । शनिबारबाट चार वटा जेसिभी लगाएर खाल्डो खन्ने कामलाई तीव्रता दिइएको छ । मुआब्जाप्रति चित्त नबुझाएर जियाजोरवासीले सात वर्षसम्म काम रोकेका थिए । अहिले भने कुनै अवरोध भएको छैन ।