• ५ जेठ २०८१, शनिबार

अँध्यारो बस्तीमा बिजुली बल्यो

blog

बैतडी समाचारदाता 

बैतडी, पुस ९ गते । बिजुली नहुँदा अँध्यारोमा बस्न बाध्य ढोले गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेपछि स्थानीय खुसी भएका छन् । सुर्नया गाउँपालिका–८,  ढोले गाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि अँध्यारो बस्ती उज्यालो भएको हो । 

ढोले गाउँमा बिजुली बलेसँगै यस जिल्लाको करिब २२ हजार घरधुरी विद्युत्को पहुँचमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार गरी ढोले गाउँको दल्ले बगरमा ट्रान्सफर्मर जडान गरेको छ । 

विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले ढोले गाउँमा बिजुली बलेपछि तिहार आए जस्तो भएको बताउनुभयो । स्थानीय ८० वर्षीय गम्भीरसिंह बोहोराले पनि गाउँमा पहिलो पटक बिजुली बलेको देख्न पाएको बताउनुभयो । 

उहाँले घरमा बिजुली बलेको हेर्ने धोको पूरा भएको बताउनुभयो ।  गाउँमा बिजुली बलेपछि विद्यार्थीलाई अध्ययन गर्न सजिलो भएको भूमिराज माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत दीपक बोहोराले बताउनुभयो । 

टुकी बालेर पढ्नुपर्ने बाध्यता हटेकोमा निकै खुसी लागेको उहाँले बताउनुभयो । यहाँको २० हजार घरधुरीमा विद्युत् पुग्न नसकेकाले ग्रामीण क्षेत्रमा विद्युतीकरण कार्य तीव्र पारिएको वितरण केन्द्र प्रमुख पौडेलले बताउनुभयो । 

यो वर्ष थप पाँच हजार घरधुरीमा विद्युत् विस्तार गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । डेढ वर्षभित्र यस जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने सरकारको कार्यक्रम अनुसार विन्द्रावनमा ३३ केभी प्रसारण लाइनको सबस्टेसन निर्माणको काम चलिरहेको छ । 

नेपाल र सरकारको घोषित कार्यक्रम अनुसार बैतडीलाई पूर्ण विद्युतीकरण गर्न मेलौलीमा सबस्टेसन निर्माणको काम सकिएको छ । दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र विन्द्रावनमा नयाँ सबस्टेसन निर्माणको काम चलिरहेको छ ।