• ११ मंसिर २०८१, मङ्गलबार

सरकारको आशालाग्दो कर्म

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले सुशासन, सामाजिक न्याय, समाजवाद उन्मुख लोकतन्त्र र सङ्घीयताको बहुआयामिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको छ । सरकारले सामाजिक, राजनीतिक, सांस्कृतिक, क्षेत्रीय तथा लैङ्गिक क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ । सरकारले सिंहदरबारको राजनीतिक चेतना गाउँगाउँसम्म पु-याएर जनतामा चेतनाको दियो बालेको छ । उत्पीडित वर्ग एवं जातिलाई आफ्नो हक अधिकारका निम्ति सचेत बनाएको छ । दुर्गम गाउँबस्तीमा विचारको राँको बालेर, उज्यालो प्रकाश छर्र्दै ब्युँझाउने काम गरेको छ । यसरी ब्युँझिएका जनतामा अहिले राजनीतिक परिपक्वता आउँदै छ । जनताले बल्ल वास्तविक स्वतन्त्रताको अनुभव गर्न पाएका छन् । 

सङ्घीयतामार्फत राज्यको पुनर्संरचना भएको छ तर राजावादी र केही पछौटे शक्ति यसको विरोध गरिरहेका छन् । त्यही सङ्घीयताकै कारण आज गाउँगाउँमा सिंहदरबार पुगेको छ । पालिकाहरूले सिंहदरबारका थुप्रै प्रशासनिक सुविधा गाउँमै पु-याएका छन् । पालिकाले धेरै अधिकार पनि पाएका छन् । धेरै जसो जनताको काम पालिकाबाटै हुन्छ । हिजो सानो कामका लागि जिल्ला र राजधानी धाउनु पथ्र्यो । सङ्घीयताकै कारण गाउँको बजेट वृद्धि भएको छ । हिजो गाउँमा पाँच लाख पुग्ने ठाउँमा आज दस करोडभन्दा बढी बजेट पुग्न थालेको छ । अहिलेको वडा र पालिकाको बजेट त्यतिखेरको बजेटसँग तुलनै हुन सक्दैन । देशका कुनाकुनासम्म समानुपातिक रूपमा बजेट विनियोजन भएको छ, जसले विकास निर्माण तलसम्म पुग्न थालेको छ । गाउँगाउँमा बजेट, प्रशासन, विकास, निर्माण पुग्नु सङ्घीयताकै प्रतिफल हो ।

समानुपातिक समावेशी सिद्धान्त अनुरूप पिछडिएका अल्पसङ्ख्यक, जनजाति, महिला, दलित, मधेशी, मुस्लिम, थारू नेतृत्व तहमा पुगेका छन् । ७५३ पालिकामा दलित र महिलाको अनिवार्य उपस्थितिले नीति निर्माण र प्रशासनिक तहमा उनीहरूको पहुँच पुगी वैचारिक विकास भएको छ । त्यसले पछाडि पारिएका जनतामा राजनीति गर्न, प्रशासनिक काम गर्न, कानुन बुझ्न र बनाउन नेतृत्वदायी भूमिकाको बाटो खुलेको छ । राज्यबाट दिइने सबै किसिमका सुविधा, अवसर, पद, योग्य ठाउँ, उनीहरूका लागि सुरक्षित र सुनिश्चित गरिएको छ । जनजाति, मधेशी, मुस्लिम, थारू तथा अल्पसङ्ख्यकको धेरै विकास र प्रगति भएको छ । उच्च पद र ओहोदामा उनीहरूलाई पनि पु-याएर अपनत्व गराउन सरकार सफल भएको छ । सचिव जस्तो विशिष्ट श्रेणीमा उनीहरू पुगेका छन् । 

महिला सशक्तीकरणले उनीहरू समर्थवान् भएका छन् । आफ्नो अधिकार, मुक्ति र स्वतन्त्रताप्रति उनीहरू सचेत छन् । अहिले महिलामा आएका सबलता, आत्मनिर्भरता, शिक्षा र स्वास्थ्यको जागरुकता, साहसिकता पनि त्यसका उपलब्धि हुन् । महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, विशिष्ट श्रेणीका सचिव, अतिरिक्त प्रहरी महानिरीक्षक जस्ता उच्च पदमा पुगेका छन् । 

दलितमाथिका भेदभाव, उत्पीडन, छुवाछुतको अपमान, घृणा र अवसरबाट वञ्चित गर्ने परम्परागत संस्कारमाथि कडा प्रहार भएको छ । यसले गर्दा उनीहरूको सामाजिक सम्मान र न्यायमा गतिलो योगदान पु-याएको छ । आज दलितमाथि छुवाछुत गर्ने जेल जान्छ । आरक्षणका कारण माथिल्ला पद र तहसम्म दलित पुग्न थालेका छन् । सामाजिक हिसाबले पनि दलितहरू सम्मानित छन् । बाहुन र दलित दाजुभाइ सहकार्य गर्न थालेका छन् । 

कोभिड–१९ पछि आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् । हिजो छ महिना पनि खान नपुग्ने गाउँबस्ती आज वर्षैभरि खानपुग्ने अवस्थामा पुगेका छन् । २०४७ सालसम्म ४९ प्रतिशत प्रजा/रैती निरपेक्ष गरिबीको रेखामुनि थिए । अहिले ३३.९ प्रतिशतले घटेर १५.१ प्रतिशतमा झरेको छ । २०४७ सालमा ६,३३० किलोमिटर बाटो थियो भने आज ९८,३७० किमी बाटो निर्माण भएको तथ्याङ्कले देखाउँछ । हिजो २,३७० किमी मात्र कालोपत्रे थियो भने अहिले ८,८८० किलोमिटर छ । साथै, लगभग १६ हजार किलोमिटर सडक ग्राभेल भई कालोपत्रे हुने प्रक्रियामा छन् । हिजो एउटा मात्र पूर्वपश्चिम राजमार्ग थियो भने आज चार वटा पुगेका छन् । पुष्पलाल मध्यपहाडी राजमार्ग पूरा हुने क्रममा छ भने हुलाकी र मदन भण्डारी राजमार्ग पनि आधाआधी पूरा भइसकेका छन् । 

सातदिनको अर्नी खर्च बोकेर नुन तेल, मरमसला, साबुन, जडौरी लिन जानु पर्ने सबै जसो गाउँमा अहिले यातायातको पहुँच पुगेको छ । पिउनयोग्य स्वच्छ पानीमा पनि हिजो ४७ प्रतिशत पहुँच थियो भने आज ९७ प्रतिशतले स्वच्छ पानी पाउन थालेका छन् । प्रतिव्यक्ति आय हिजो १५० अमेरिकी डलर थियो भने आज १४ सय डलर पुगेको छ । कुल गार्हस्थ उत्पादनमा खर्बको तहमा वृद्धि भएको छ । साक्षरताको दर ७३ प्रतिशतमा पुगेको छ । औसत आयु ४३ वर्षबाट बढेर ७३ वर्ष पुगेको छ । बाल र आमाको मृत्युदर हिजो ४७ प्रतिशतबाट झरेर २१ प्रतिशत र सुत्केरी महिलाको मृत्यु दर १०.७ प्रतिशतमा झरेको छ । 

सञ्चारको क्षेत्रमा त गणतन्त्र आएपछि अभूतपूर्व विकास भएको छ । स्थानीय टेलिफोन लाइन लिन पनि वर्षाैं कुर्नु पर्ने हिजोको स्थिति बदलिएर आज ९२ प्रतिशत जनताका हातहातमा स्मार्ट मोबाइल पुगेको छ । इन्टरनेट र टिभी पनि सबै जसो गाउँमा सहज उपलब्ध भएका छन् । दुई करोड ५९ लाखबाट बढेर तीन करोड ४४ लाख सेट मोबाइल उपयोग भएको तथ्याङ्क छ ।

पञ्चायतले ३० वर्षमा जति विकास निर्माण ग-यो गणतन्त्रले १५ वर्षमा दुई सय गुणाले गरेको सरकारी तथ्यहरूले पुष्टि हुन्छ । देश अहिले तुइनबाट मुक्त भएको छ । १७ हजारभन्दा बढी मोटर गुड्ने पक्की पुल बनेका छन् र १७ सयजति निर्माण प्रक्रियामा छन् । बृहत्तर गुरु योजना झन्डै दुई दर्जन पुगेका छन् । राष्ट्रिय गौरवका आयोजना चालु छन् । नेपाल अहिले सुरुङ युग र केबुलकारको युगमा प्रवेश गरेर आधा दर्जन केबुलकार चालु छन् । राष्ट्रिय गौरवका आयोजनामा सुरुङ मार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, नदी डाइभर्सन सिँचाइ योजना, विकास क्षेत्र आयोजना, नदी करिडोरका सडक आयोजना, फास्ट ट्र्याक र लिङ्क रोड बन्दै छन् । दसौँ ठाउँबाट सडक मार्गले देशको उत्तर दक्षिण जोडिँदै छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले त अझ एक वर्षमा थुप्रै सकारात्मक काम गरेको छ । भ्रष्टाचारविरुद्धको अभियानमा यो सरकार दृढ भएर लागेको छ । 

नौ लाख पर्यटक भित्र्याउन सफल भएकाले आशा चुलिएका छन् । परराष्ट्र नीतिमा प्रधानमन्त्रीले भारतसँग समदुरीको सिद्धान्तमा रहेर दस हजार मेघावाट बिजुली बेच्ने स्थितिमा पु-याउनु उपलब्धि हो । अहिले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा भारत, चीन, अमेरिका सबैसँग सन्तुलित कूटनीतिक सम्बन्ध राखेको देखिन्छ । 

यस्तै, नगदे बाली धन, उखु आदिको समयमै न्यूनतम मूल्य तोकिदिनु, किसानलाई मलखाद, बीज समयमा उपलब्ध गराउनु, विद्यार्थीलाई समयमै पुस्तक पु-याउनु, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स जस्ता भिडभाड हुने क्षेत्रका समस्या हल गर्नु, अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनु र बुढीगण्डकी जलाशययुक्त आयोजना, स्वदेशी लगानीमै नेपाल आफैँले निर्माण गर्ने निर्णय गर्नु दूरगामी महत्वका विषय हुन् । 

स्वास्थ्य क्षेत्रमा हेर्दा चिकित्सकको सेवा विस्तार भएको छ । अस्पतालको सङ्ख्या ७,८०० पुगेको छ । हिजो दुई वटा मात्र मेडिकल कलेज र विश्वविद्यालय रहेकोमा अहिले प्रदेश प्रदेशमा सरकारले स्थापना गरेका छन् । गाउँगाउँमा १२ कक्षासम्म पढाइ भएको छ । गाउँसम्म उच्च शिक्षा पुग्न थालेको छ । मरिन र बबई डाइभर्सन आयोजना पूरा भएपछि त्यसको परिणाम देखिने छ । भरतपुर महानगरको विकासको गति तीव्र छ । 

घाटामा रहेका विद्युत् प्राधिकरण र आयल निगमले नाफा कमाउन सुरु गरेपछि राष्ट्रिय आयमा वृद्धि भएको छ । विद्युत् प्राधिकरणले दुई महिनामै बिजुली बेचेर झन्डै १३ अर्ब नाफा कमाएको छ । देशभरिबाट लोडसेडिङ अन्त्य भएको मात्रै होइन, उज्यालो नेपाल अभियान सफल हुँदै गएको छ । अहिले ९२ प्रतिशत जनतामा विद्युत् पुगेको छ । थप चार प्रतिशत जनतामा पु-याउने लक्ष्य छ । चीन र भारतबाट रेल ल्याउने र पूर्वपश्चिम रेल मार्गबारे काम भइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थित गर्न र कर्णालीको विकासमा ध्यान पु-याउने कार्य भएको छ । 

यी विश्लेषणबाट के निष्कर्ष निकाल्न सकिन्छ भने गणतन्त्र आएपछि देशको स्थिति राम्रो बन्दै गएको छ । सरकारको एक वर्षको कार्य सम्पादनले विविध क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गरेकाले पनि आउँदा दिनमा कायापलट हुने छ । फेरि पनि के बिर्सनु हुँदैन भने ‘शत्रुले हामीलाई सधैँ चनाखो बनाइरहन्छ ।’   

Author

ईश्वरचन्द्र ज्ञवाली