• १२ असोज २०८१, शनिबार

काठमाडौँ रेजर्स एनएसएलको प्लेअफमा

blog

काठमाडौँ, पुस ७ गते । साबिक विजेता काठमाडौँ रेजर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा शानिबार साँझ भएको लिग चरणको अन्तिम खेलमा काठमाडौँले ललितपुर सिटीलाई १-० गोलले हराउँदै प्लेअफमा स्थान बनाएको हो । 

काठमाडौँको जितमा आन्द्रेस नियाले पहिलो हाफको इन्जुरी समयमा गोल  गर्नुभयो । जितसँगै काठमाडौँ तेस्रो स्थानमा रह्यो । हारेपनि ललितपुर चौथो बन्दै प्लेअफमा पुगेको छ । ललितपुरको हारले झापा एफसी पाँचौँ स्थानमा रहँदै बाहिरियो । ललितपुर, झापा र बुटवलको समान १०/१० अङ्क भएपनि हेड टु हेडका आधारमा ललितपुर अघि बढेको हो ।

एनएसएल लिग चरणको समाप्तिसँगै पोखरा थन्डर्स १४ अङ्कसहित लिगको शीर्षस्थान र धनगढी १३ अङ्कसहित दोस्रो स्थानमा रह्यो । एनएसएलको क्वालिफायरमा अब सोमबार पोखरा थन्डर्स र धनगढी एफसी खेल्नेछन् । उक्त खेल जित्ने टोली फाइनल पुग्नेछ ।

पराजित हुने टोलीले भने फाइनल प्रवेशका निम्ति बिहीबार एलिमिनेटरको विजेतासँग खेल्नेछ । एलिमिनेटरमा मङ्गलबार पुनस् ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्सबिच प्रतिस्पर्धा हुनेछ ।