• ९ जेठ २०८१, बुधबार

गाजामा ७५ दिनमा १३६ सहकर्मी मारिएको संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको भनाइ

blog

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस

न्यूयोर्क, पुस ७ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबिच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताउनुभएको छ । राष्ट्र सङ्घको इतिहासमा यति धेरै सङ्ख्यामा आफ्ना कर्मचारीको हताहत भएको अहिलेसम्मको दुर्लभ घटना हो । 

“गाजामा हाम्रा १३६ सहकर्मी ७५ दिनमा मारिएका छन्, जुन हामीले राष्ट्रसङ्घको इतिहासमा कहिल्यै देखेका छैनौँ । हाम्रा अधिकांश कर्मचारीलाई घरबाट निकालिएको छ,” संयुक्त राष्ट्रसङ्घका प्रमुखले एक्सन (ट्विटर) पोस्टमा लेख्नुभएको छ ।

उहाँले भन्नुभयो, “म गाजामा सर्वसाधारणलाई सहयोग गर्ने हजारौँ सहायताकर्मीप्रति आधार प्रकट गर्दछु ।” अक्टोबर ७ मा इस्लामिक कट्टरपन्थी समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा द्वन्द्व चर्किएको थियो ।

करिब दुई हजार ५०० को सङ्ख्यामा हवाई, जल र स्थल मार्गबाट आक्रमणकारी लडाकु प्रवेश गरी इजरायली क्षेत्रमा आक्रमण गरेका थिए जसका कारण करिब एक हजार १४० जनाको हत्या गरेको थियो भने करिब २५० जनालाई बन्धक बनाएको इजरायली तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यसपछि इजरायलले निरन्तर हवाई र जमीनी अभियानको साथ आक्रमणको बदलामा जवाफ दिइरहेको छ । गाजा पट्टीस्थित हमास सरकारको सञ्चार कार्यालयले बुधबार दिएको जानकारीअनुसार कम्तीमा २० हजार व्यक्तिको मृत्यु भएको छ, जसमध्ये आठ हजार बालबालिका र छ हजार २०० महिला रहेका छन् ।

इजरायलले गाजा आक्रमणलाई हमासको सम्पूर्ण आतङ्ककारी समूहलाई समाप्त गर्नका लागि पूर्वाधारलाई लक्षित गरेको र नागरिक हताहती लाई कम गर्ने प्रयासको रूपमा चित्रण गरेको छ । इजरायलको प्रतिरषा बलले गाजा सहरको शेजैया छिमेकमा पूर्ण ‘अपरेशनल कन्ट्रोल’ स्थापित गरेको बताएको छ । रासस/एएफपी