• ६ माघ २०८१, आइतबार

अवैधरुपमा नदीबाट ढुङ्गा बालुवा उत्खनन्

blog

रौतहटको वृन्दावन नगरपालिका क्षेत्रमा पर्ने बागमती नदीमा एक्साभेटर प्रयोग गरी अवैध रूपले नदीजन्य पदार्थ निकाल्दै । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, पुस ५ गते । सर्लाहीका ठेकदारले रौतहटको वृन्दावन नगरपालिका अन्तर्गत पर्ने बागमती नदीबाट अवैध रूपमा ढुङ्गा बालुवा झिक्ने काम गरेको पाइएको छ । 

नगरपालिकाको कार्यालयले जनाएअनुसार पालिकासँग सहमति नलिई चारवटा ‘एक्स्काभेटर’ प्रयोग गरी सर्लाही बरहथवाका ठेकदार रामचन्द्र सहनीले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरेका हुन् । 

नदीजन्य पदार्थ उत्खनन् भइरहेको सूचना पाएपछि दुई जना सुरक्षाकर्मी र जिल्ला समन्वय समितिका एक जना पदाधिकारीसहित नदीमा पुग्दा ठेकदारका मानिसले हातपात गर्न खोजेपछि त्यहाँबाट फर्किएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलले जानकारी दिनुभयो । 

उहाँकाअनुसार दादागिरी शैलीमा एक्स्काभेटर प्रयोग गरी उत्खनन् गरेको नदीजन्य पदार्थ वृन्दावन नगरपालिका –१ मा रहेको शिवम् क्रसर उद्योगमा बिक्री गरेको जानकारी प्राप्त भएको छ । उक्त उद्योग अनधिकृतरुपमा सञ्चालित छ । 

वृन्दावन नगरपालिका प्रमुख विनोदप्रसाद कुर्मी र बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालबिच भएको वार्ताले आफ्नै क्षेत्रमा एक्स्काभेटर चलाइ नदीजन्य पदार्थ निकाल्न ठेकदारलाई आग्रह गरिएको भए पनि अटेर गरेको स्थानीयको भनाइ छ ।  

नदीबाट जथाभाबी गिट्टी, बालुवा, ग्राभेल तथा ढुङ्गा उत्खनन् गर्दा वर्षायाममा गाउँबस्तीमा बाढी पस्ने त्रास रहेको स्थानीय सिताराम पटेलले दुखेसो गर्नुभयो ।