• २७ वैशाख २०८२, शनिबार

अहिलेको आवश्यकता स्वच्छ राजनीति : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) राप्ती नगर कमिटीको नगर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल।

वसन्त पराजुली

नारायणगढ, पुस ५ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वच्छ राजनीति अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको छ । समाजवादी पार्टीको राप्ती नगर कमिटीको नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो । 

अध्यक्ष नेपालले भन्नुभयो, “भ्रष्टाचारीका विरुद्धमा पार्टी एकजुट भएर लाग्नुपर्ने बेला आएको छ । अब भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुँदैन । अहिलेको अपरिहार्य आवश्यकता स्वच्छ राजनीति हो ।” 

उहाँले देशमा सुशासन जरुरी बताउनुहुँदै भ्रष्टाचार र अनियमिततामा संलग्न जोकोहीलाई पनि कारबारही गर्नुपर्ने धारणा राख्नुभयो । 

“सबै क्षेत्रमा भ्रष्टाचार फैलिएको छ । यसको छानबिन हुनु जरुरी छ”, उहाँले भन्नुभयो । 

अध्यक्ष नेपालले आर्थिक विकासको आधार कृषि उद्योग, जलश्रोत रहेको बताउनुहुँदै  यसको समायोजित विकास गर्न सके देशले कोल्टो फेर्ने धारणा राख्नुभयो ।

उहाँले दलमा शुद्धता जरुरी रहेको बताउनु हुँदै देशको स्वाभिमान बचाउन जरुरी रहेको उल्लेख गर्नुभयो । 

“देशको स्वाभिमान माथि उठोस् । नेपाली पनको भावना उजागर बनोस् । जुनसुकै जात धर्म भए पनि उनीहरूलाई मिलाएर एकताबद्ध बनाएर लैजान सकियोस् भन्ने अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो ।  

नेपाली स्वाभिमानमा आँच पुर्‍याउने विरुद्धमा उठ्नुपर्ने उहाँको भनाइ छ । “पहिला तपाईँहरू देशभक्तिको भावनाको विकास गर्न उठ्नुहोस्”, उहाँले भन्नुभयो ।