भारत (सिलोङ), पुस ५ गते । प्रथम मेघालय अन्तर्राष्ट्रिय खुला ग्राण्ड मास्टर्स बुद्धिचाल प्रतियोगितामा नेपाली बुद्धिचाल खेलाडीले औसत प्रदर्शन गरेका छन् ।
भारतको सिलोङ इन्डोर स्पोर्ट्स स्टेडियममा गत मङ्सिर २७ देखि पुस ४ गतेसम्म सञ्चालित प्रतियोगितामा नेपालका वर्तमान च्याम्पियन एफएम रुपेश जैसवाल ६ अङ्क बटुल्दै ४०औँ स्थानमा रहनुभयो । उहाँले २४ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
यस्तै नेपालका भरत गुरुङ, उमेश राई, ललित बहादुर राई, बलबहादुर तामाङ, आर्य मुकारुङ, राजेन्द्र राई, विक्रम राई र किशोर राईले औसत खेल प्रदर्शन गर्नुभयो । एक सय ७० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा भारतका अन्तर्राष्ट्रिय आर्विटर (प्रमुख निर्णायक) धर्मेन्द्र कुमारले जर्जियन ग्रायण्ड मास्टर लेभन पन्त्सुलैयलाई एकल विजेता घोषणा गर्नुभयो । १०औँ चरणको खेलमा ८.५ अङ्क जोड्दै च्याम्पियन बन्नुभएका जिएम लेभनले तीन लाख एक हजार भारतीय रुपियाँ पुरस्कार पाउनुभयो ।
यस्तै १६०० रेटिङ मुनिको खेलमा भारतीय खेलाडी ऋतुराज तामुलिले नाै चरणको खेलबाट आठ अङ्क जोड्दै पहिलो हुनुभयो । यस स्पर्धामा एक सय ९१ खेलाडीको सहभागिता रहेको थियो । यस समूहमा सहभागी नेपाली खेलाडी शिखर रेग्मीले ६ अङ्क जोड्दै १६ हजार भारतीय रुपियाँ पुरस्कार पाउनुभयो ।
५.५ अङ्क जोड्नु भएका रञ्जित राईले एघार हजार दुई सय पाउनुभयो । नेपालका प्रकाश तामाङ, राजभाई महर्जन, सुरज सिंह र राजु श्रेष्ठको प्रदर्शन भने औसत रह्यो । प्रतियोगिताको अवसरमा नेपालका एक मात्र सहभागी सिनियर राष्ट्रिय आर्विटर सोराज ताम्राकारलाई तेस्रो नर्म प्रदान गरिएको नेपाल बुद्धिचाल महासङ्घले जनाएको छ ।