• २४ असार २०८१, सोमबार

नेपाल र श्रीलङ्काका विदेशमन्त्रीबिच सार्क र बिमस्टेकलाई बलियो बनाउने विषयमा छलफल

blog

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्री । तस्बिरः गोरखापत्र

काठमाडौं, पुस ५ गते। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली समकक्षी मोहम्मद उवैस मेहम्मद अलि साब्रीबिच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने विषयमा छलफल भएको छ।  

बिहीबार काठमाडौँमा भएको दुई मन्त्रीबिचको छलफलमा क्षेत्रीय सङ्गठन सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने बारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले बताउनुभयो।  

छलफलमा उहाँले दुई पक्षीय सम्बन्धको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेसनका बारेमा छलफल भएको जानकारी दिनुभयो।  

उहाँले संयुक्त राष्ट्रसङ्घ र अन्य बहुपक्षीय फोरममा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘श्रीलङ्काका विदेशमन्त्रीको नेपाल भ्रमणको आज दोस्रो दिन हो।  यो हाम्रो ज्वाइन्ट कमिसनको बैठक भएको हुनाले यसमा दुई पक्षीय सम्बन्धको पुनरावलोकन, व्यापार र लगानीका बारेमा कुराकानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेसन जस्ता दुई पक्षीय विषयमा गम्भीर र सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ।  क्षेत्रीय सङ्गठन, विशेष गरेर सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने र सबै राष्ट्रका बिचमा सहमति बनाएर अघि बढ्ने बारेमा पनि कुरा भएको छ। ’’ 

पत्रकार सम्मेलनमा बोल्दै श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अलि साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलङ्काबिच सहकार्य गरेर जाने बारेमा छलफल भएको बताउनुभयो।  उहाँले सार्क र बिमस्टेक लगायतका क्षेत्रीय कार्यक्रमहरूमा विशेष जोड दिएर अघि बढ्ने बारेमा पनि छलफल भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘नेपाल र श्रीलङ्का धेरै नजिकका मित्र हुन्।  लामो समयदेखिका साथी हुन्। हामीले धेरै कुरामा एकआपसमा समझदारी सहकार्य गर्दै आइरहेका छौँ।  अब झनै सम्बन्ध विस्तारका लागि हामी आफ्ना सहकार्य अघि बढाइरहेका छौँ।  शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका धेरै क्षेत्रमा हामीले सहकार्य गर्नेछौँ। ’’

पर्यटन प्रवर्द्धनका लागि नेपाल र श्रीलङ्काबिच थप सहकार्य गर्नेबारेमा पनि छलफल भएको बताउनुभयो।  दुई देशबिचको सम्बन्ध विस्तारका बारेमा पनि छलफल भएको उहाँको भनाइ छ।