• १६ वैशाख २०८१, आइतबार

‘पढ्दै कमाउँदै कार्यक्रम’

पढाइसँगै काम र दाम (फोटो फिचर)

blog

पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत खेती गर्दै जनता माविका विद्यार्थी। तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, पुस ५ गते।  कपिलवस्तुको वाणगंगा नगरपालिका-२ पिपराको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई च्याउ बेच्न भ्याई न भ्याई छ।  एक साता अगाडिदेखि च्याउ उत्पादन सुरु भएको छ। कोही च्याउ टिप्ने, पानी छर्किने गर्छन्।  केही विद्यार्थीलाई च्याउ बेच्ने जिम्मेवारी रहेको छ।  विद्यालयको गेट नजिक च्याउ बिक्री केन्द्र राखिएको छ।  केन्द्रमा बिक्री नभएको च्याउ बजारमा पुग्छ।  

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु भएपछि कृषि गरेर पढाई खर्च जुटेको कक्षा १० मा अध्ययनरत सुस्मा पालले बताउनुभयो।  ‘‘घरमा आमा बुवाको खेतमा काम गर्न आग्रह गर्दा पढ्नु छ भनेर बहाना गर्ने गरेको थिएँ।  विद्यालयमा खेती गर्न लागेपछि कृषि कार्यमा रुचि बढेको छ।  शिक्षक र साथीसँग मिलेर तरकारी र च्याउ उत्पादन गरेपछि कृषि प्रति उत्सुकता जागेको छ।  विद्यालयमा सिकेको सिप घरमा बुवा आमालाई सिकाउने गरेकी छु’’, पालले भन्नुभयो। 

विद्यालयमा तीन वर्षदेखि कार्यक्रम सञ्चालन भएको प्रधानाध्यापक रमेश पन्थीले बताउनुभयो।  आवेदन फर्म भरेका २२ जना विद्यार्थी कार्यक्रमका लागि छनोट भएका छन्।  करिब तीन बिघा जग्गामा खेती गरिएको छ।  दुई बिघा जग्गामा अघिल्लो वर्ष लगाइएको बेसार पाकेर खन्ने बेला भएको छ।  यो वर्ष दुई कट्ठामा लसुन लगाइएको छ।  एउटा टनेलामा च्याउ खेती गरिएको छ।  अर्को टनेलामा च्याउ उत्पादन गर्न तयारीमा राखिएको छ।  थप दुई टनेलमा टमाटर र खुर्सानी लगाइएको छ।  

कार्यक्रम सञ्चालनका लागि पाँच लाख रुपियाँ अनुदान स्वरूप आएको विद्यालयका शिक्षक विक्रम बेल्बासेले बताउनुभयो।  विद्यार्थीले काम सिक्ने, बजारीकरण गर्ने र श्रमको सम्मान गर्ने सिपको समेत विकास भएको छ।  कार्यक्रममा सहभागी विद्यार्थीले मासिक दुईदेखि तीन हजार रुपियाँ आम्दानी गरेका छन्।  उक्त रकम शैक्षिक सामग्री खरिद र पढाई खर्च जुटेको छात्र विनोद भुसालले बताउनुभयो।