• ४ जेठ २०८१, शुक्रबार

एपीएफ र बागमतीको विजयी सुरुवात

blog

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन रन बनाएपछि बागमतीका खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौँ, पुस ५ गते । विभागीय टोलीको एपीएफ क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । म"लपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो । यस्तै त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो । 

जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले १६.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । एपीएफको जितमा ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाउनुभयो । इन्दु बर्माले अविजित ३१ र सीता रानामगरले चार रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमकी ईश्वरी विष्टले एक विकेट लिनुभयो । 


यसअघि टस जितेर पहिले ब्याटिङ गरेकोको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । सुदूरपश्चिमको लागि कविता जोशीले २२ रन बनाउनुभयो । सम्झना खड्काले १२ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यस्तै त्रिवि मैदानमा जितको लागि एक सय १८ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ८९ रनमात्र बनायो । मधेशको लागि पूजा महतोले ३५ रन बनाउनुभयो । ओपनर अनुराधा चौधरीले २१ र प्रतिमा शाह १४ रन बनाउनुभयो । बलिङमा बागमतीकी अश्मिना कर्माचार्यले दुई तथा मनीषा उपाध्यायले एक विकेट लिनुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । बागमतीको जितमा मध्यक्रमकी ब्याटर एसोदा विष्टले ४७ रन बनाउनुभयो । अश्मिना कर्माचार्यले ३० र ओपनर हेलिसा गुरुङले १२ रन जोड्नुभयो । 

बलिङमा मधेशका लागि पूजा महतोले दुई विकेट लिनुभयो । कविता गौतमले एक विकेट लिनुभयो । प्रतियोगिता अन्तर्गत बिहीबार नै त्रिवि मैदानमा गण्डकी र लुम्बिनी तथा मूलपानीमा कोशी र कर्णाली प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।