• १८ असार २०८१, मङ्गलबार

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

blog

चितवन,  पुस ५ गते ।  नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो । 

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन् भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछन् ।

 यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ । पोखराबाट आउने यात्रीवाहक सवारीसाधन बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।

 उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्षअघि निर्माण भएका हुन् भने  बाँकी १५ पुलको काम  एकैसाथ थालिएको थियो । रासस