कालीकोट समाचारदाता
कालीकोट पुस ५ गते । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१, रामीडाँडामा किवी खपत हुन छोडेको छ । बजार अभावका कारणले पकेट क्षेत्रकै किवी बिक्न छोडेको हो । रामीडाँडालाई दुई वर्षअगाडि गाउँपालिकाले किवी पकेट क्षेत्र घोषणा गरेको थियो । पकेट क्षेत्रमा उत्पादित किवी बिक्री नहुँदा कृषक चिन्तामा छन् ।
अहिले रामीडाँडाका सबै स्थानीयवासीको बारीमा किवी फलेर लटरम्मै छ । किवी खपत हुने बजार भने रामीडाँडामा अभाव छ । वडा नम्बर १ तलीआगर गाउँका डम्बरबहादुर गिरीले किवीले बजार नपाउँदा बोटमै खेर जान थालेको बताउनुभयो । कोही किन्न आए पनि ६० रुपियाँ किलोमा लैजान्छन् । सुरुमा दुई सय रुपियाँ किलो बिक्री हुँदै आएको किवी भूकम्पपछि मूल्य पाउन छोडेको गिरीले बताउनुभयो ।
सुरुमा रामीडाँडामा शिक्षकले किवी खेती गरेका थिए । शिक्षक धर्मराज गिरीले राम्रो मूल्य पाउने भनेर धेरै खेती गरेको भए पनि किवी फल्न थालेदेखि बजारमा मूल्य नपाएको बताउनुभयो ।
गहुँ, मकै उत्पादन हुने जमिनमा किवी खेती गरियो, रुखको मुनि त्यसको छायाले केही बाली उत्पादन हुँदैन । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले किसानले के कति उत्पादन गरेका छन् त्यो यकिन गर्न नपाएको बताउनुभयो ।
भूकम्प नआएको भए गाउँमा उत्पादित वस्तु यकिन गरेर बजार व्यवस्थापन हुन्थ्यो तर विपत्का कारण सोचे जस्तो काम गर्न नसकिएको उहाँले बताउनुभयो ।