राधा लुइँटेल
फिदिम, पुस ५ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मङ्सिर २२ गतेदेखि किसानका खेतमा पुगेर धान लेखाजोखा गर्न व्यस्त छन् । एक याममा ५० मुरीभन्दा धेरै धान फलाउनेलाई प्रोत्साहनस्वरूप पुरस्कार दिने नीति ल्याएपछि गाउँपालिकाका जनप्रतिनिधि पुरस्कार दाबी गर्ने किसानको खेत र खलामा धान भर्न व्यस्त भएका हुन् ।
गत असार १० गते सम्पन्न गाउँ सभाबाट एक याममा ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई नगद ३० हजार रुपियाँ र एक सय मुरीभन्दा धेरै फलाउनेलाई ५० हजार रुपियाँसहित सम्मान गर्ने कार्यविधि पारित गरेको थियो । गाउँपालिकाले सो मापदण्ड अनुसार धान फलाउने किसानलाई दाबी पेस गर्न आह्वान गरेको थियो । जस अनुसार गाउँपालिकाभरिका ४२ जना किसानले पुरस्कारका लागि योग्य भएको दाबीसहित निवेदन दिएका थिए ।
दाबी पेस गरेका किसानको धान अनिवार्य लेखाजोखा गरेर सार्वजनिक मुचुल्का उठाएर मात्रै पुरस्कार दिनुपर्ने भएकाले जनप्रतिनिधि र कर्मचारी सामूहिक रूपमा धान भर्ने पाथी र डिजिटल तराजु बोकेर किसानका घरमा पुग्ने गरेको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बताउनुभयो । उहाँका अनुसार पुरस्कारका लागि दाबी गरेका अधिकांशले मापदण्ड अनुसार धान फलाएको पाइएको छ ।
किसानले ५० मुरीदेखि १८५ मुरीसम्म धान फलाएको दाबी पेस गरेका थिए । “हालसम्म नापजाँच गरिएकामध्ये वडा नं. ७ का गणेशकुमार चेम्जोङले ११६ मुरी धान फलाएको पुष्टि भएको छ भने वडा नं. १ का मकर तामाङले १८५ मुरी फलाएको भन्दै निवेदन दिनुभएको छ । तामाङको धान भर्न केही समय लाग्ने देखिन्छ,” अध्यक्ष आङदेम्बेले भन्नुभयो ।
फाल्गुनन्द गाउँपालिकामा सात वटा वडा छन् । सबै वडामा धान फल्छ । बसाइँसराइ र जनशक्ति अभावका बाबजुद खेती गरिरहेका किसान धेरै अन्न फलाउँदा पुरस्कृत हुने भएपछि निकै नै उत्साही छन् ।
वडा नं. ७ का गणेशकुमार चेम्जोङले भन्नुभयो, “हातखुट्टा लागेदेखि खेतीपाती गरियो, सरकारका प्रतिनिधिले यसरी खलामा आएर कहिल्यै हाम्रो कमाइ हेरेका थिएनन् । यस पटक जनप्रतिनिधि र कर्मचारी एकैसाथ आएर धान भर्दै पुरस्कारका लागि योग्य भएको घोषणा गर्दा धेरै नै खुसी भएको छु ।” अर्को वर्ष बाँझिएको बाँकी खेतमा धान रोपेर दुई सय मुरी फलाउने उहाँको अठोट छ ।
चेम्जोङले यस पटक १०१ मुरी धान फलाएको दाबी गर्दै पुरस्कारका लागि निवेदन गर्नुभएको थियो । उहाँको खलामा पुगेर भर्दा दाबीभन्दा १५ मुरी धेरै (कुल ११६ मुरी) धान भेटिएको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताउनुभयो ।
मापदण्ड अनुसारको धान फलाएका किसानको खला र खेतमा पुगेर धान भर्ने काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । ५० मुरीभन्दा धेरै धान फलाएका सबै किसानलाई गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आह्वान गरेर सामूहिक सम्मानसहित नगद दिएर पुरस्कृत गर्ने गाउँपालिकाको तयारी छ ।