• २ जेठ २०८१, बुधबार

सीसा, कुखुराको प्वाँखको व्यवस्थापनमा चुनौती

blog

सूक्ष्म वर्गीकरण केन्द्रमा प्लाष्टिक टुक्र्याइँदै । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस ४ गते । धनगढी उपमहानगरपालिकामा सीसा, कुखुराको प्वाँख, खसी, बोकाको रौंजस्ता फोहोर व्यवस्थापनमा चुनौती देखिएको छ । 

नगर क्षेत्रबाट उत्पादन हुने यस्ता फोहोरमैला व्यवस्थापनका लागि उपकरण नरहेकाले व्यवस्थापनमा समस्या भएको नगर प्रमुख गोपाल हमालले बताउनुभयो । 

धनगढी उपमहानगरपालिकाले एक वर्षदेखि कुहिने र नकुहिने फोहोरमैला व्यवस्थापन गर्ने काम गरिरहेको छ । यस्ता फोहोरबाट आम्दानी गर्ने कार्यको थालनी भए पनि सीसा, कुखुराको प्वाँख र रौंलगायतका फोहोर व्यवस्थापन गर्न सकिएको छैन । 

मान्छेहरुले यस्ता फोहोर जथाभावी फाल्नेगरेको पाइएको नगर प्रमुख हमालले बताउनुभयो । “यस्तो फोहोर फाल्नेलाई उपमहानगरपालिकाले नियमानुसार जरिवाना पनि गर्दैआएको छ” उहाँले भन्नुभयो, “हामी यस प्रकारको फोहोरलाई पनि व्यवस्थापन गर्न खोजेका छौं ।”

यसैबीच, यूएनडिपीले धनगढी उपमहानगरपालिकाको सूक्ष्म वर्गीकरण केन्द्रलाई उपकरण सहयोग गरेको छ । फोहोर व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ यूएनडिपीले ७७ लाख ९५ हजार रुपियाँ बराबरको उपकरण सहयोग गरेको छ । 

केन्द्रलाई दिइएको उपकरणमा कागज, बट्टालगायतका फोहोर च्याप्ने बेलिङ मेसिन, प्लाष्टिक टुक्र्याउने श्रेडिङ मेसिन र एउटा मिनी ट्रक रहेको छ । यूएनडिपीका प्रतिनिधिले धनगढी उपमहानगरपालिका प्रमुख हमाललाई सो उपकरण हस्तान्तरण गर्नुभयो । 

त्यस अवसरमा नगर प्रमुख हमालले धनगढी उपमहानगरपालिकाको मुख्य काम फोहोरमैला व्यवस्थापन रहेको बताउनुभयो । उहाँले फोहोरमैलाको समस्या दीर्घकालीन रुपमा समाधान हुनुपर्ने उल्लेख गर्नुहुँदै गत वर्षबाट नै धनगढी उपमहानगरपालिका व्यवस्थापनमा लागेको उल्लेख गर्नुभयो ।