नयाँदिल्ली, पुस ४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राज्य अमेरिकामा सिख ‘पृथकतावादी’ नेताको हत्याको षडयन्त्रबारे उपलब्ध गराइएको कुनै पनि प्रमाणको अनुसन्धान गर्ने बताउनुभएको छ ।
अमेरिकी न्याय विभागले गत महिना एक भारतीय नागरिकमाथि अमेरिकी भूमिमा एक सिख नेताको हत्याको षडयन्त्र रचेको आरोप लगाएको थियो ।
प्रधानमन्त्री मोदीले यस विषयमा आफ्नो पहिलो टिप्पणीमा भन्नुभयो, “यदि हाम्रो नागरिकले केही राम्रो वा नराम्रो काम गरेको छ भने हामी त्यसलाई हेर्न तयार छौँ । हाम्रो प्रतिबद्धता विधिको शासनप्रति हो ।”
यसअघि भारतीय विदेश मन्त्रालयले ’यस मामिलाका सबै सान्दर्भिक पक्षहरूको अध्ययन गर्न’ ‘उच्चस्तरीय’ छानबिन समिति गठन गरेको बताएको थियो ।
नोभेम्बर २९ मा अमेरिकी न्याय विभागले न्युयोर्क सहरमा भारतीय मूलका अमेरिकी नागरिक ५२ वर्षीय निखिल गुप्ताविरुद्धको हत्या गर्ने असफल योजनामा संलग्नताको आरोप सार्वजनिक गरेको थियो ।
न्याय विभागका अनुसार हत्यामा संलग्न व्यक्ति ‘भारत सरकारको मुखर आलोचक हुनुहुन्छ र उहाँ अमेरिकास्थित सिख समुदायको सङ्गठनको नेतृत्व गर्नुहुन्छ । उहाँले उत्तरी भारतीय राज्य पन्जाबलाई अलग गर्ने पक्षमा वकालत गर्नुहुन्छ ।
भारतमा बस्दै आएका गुप्तालाई चेक रिपब्लिकका अधिकारीहरूले अमेरिकी सुपुर्दगी आदेशअन्तर्गत पक्राउ गरेका थिए ।
ह्वाइट हाउसले संयुक्त राज्य अमेरिकामा एक सिख पृथकतावादीको हत्या गर्ने कथित षडयन्त्रलाई ‘अत्यन्त गम्भीरताका साथ’ हेरिरहेको र भारत सरकारसँग यो मुद्दा उठाएको बताएपछि मोदीको यो टिप्पणी आएको हो ।
सोही दिन फाइनान्सियल टाइम्सले अमेरिकी र क्यानडेली नागरिक गुरपतवन्त सिंह पन्नुनको हत्याको षडयन्त्र असफल पारेको समाचार प्रकाशित गरेको थियो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत सेप्टेम्बरमा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यामा नयाँ दिल्लीलाई जोडेपछि क्यानडा र भारतबिच ठुलो कूटनीतिक विवाद भएको थियो ।
नयाँ दिल्लीले क्यानडाको आरोपलाई ‘बेतुकको’ आरोप मात्रै भएको बताएको छ । मोदीले फाइनान्सियल टाइम्ससँग भन्नुभएको छ, “भारत विदेशमा रहेका केही अतिवादी समूहका गतिविधिप्रति निकै चिन्तित छ ।”
“अभिव्यक्ति स्वतन्त्रताको आडमा यी तत्त्वहरूले धम्की दिने र हिंसा भड्काउने काम गरेका छन्,” उहाँले बताउनुभयो । रासस/एएफपी