काठमाडौं, पुस ४ गते । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा साथी बनी कुराकानी गर्ने क्रममा अश्लील क्रियाकलापद्वारा मानसिक यातना दिने ३३ वर्षीय सगीर अहमदलाई दुबईबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार फेसबुकमा अनलाइन उत्पीडनको लागि बालबालिकालाई विभिन्न तवरले तयार पार्ने, अश्लील क्रियाकलापद्वारा बारम्बार दुख, हैरानी तथा मानसिक यातना दिएको विषयमा नाबालिकाका अभिभावकले आवश्यक कारबाहीका लागि ब्युरोमा निवेदन दिएका थिए ।
स्थायी घर प्युठान सरुमारानी गाउँपालिका १ का अहमदलाई विद्युतीय कारोबार ऐन, २०६३, अपराध अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरेर खोजतलास गर्ने क्रममा वैदेशिक रोजगारीमा दुबईमा रहेका बेला प्रहरीको इन्टरपोल शाखाको सहयोगमा पक्राउ गरी आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।