विजयकुमार साह
ढल्केवर, पुस ४ गते । रुसी सेनामा भर्ना भएका धनुषाको मिथिला नगरपालिका-७, केमलीपुरका २९ वर्षीय विमल जगमेर सम्पर्कविहीन भएपछि घरपरिवारका सदस्य चिन्तामा डुबेका छन् । उहाँहरूले विमलको अवस्था पता लगाइदिन याचना गरेका छन् ।
भदौ २० गते दुबई हुँदै रुस पुग्नुभएका विमल असोज ११ गतेदेखि घरपरिवारसँग सम्पर्कविहीन हुनुहुन्छ । रुस पुगेर रुसी सेनामा भर्ती भएका छोरा सम्पर्कविहीन भएपछि बुवा तिलकबहादुर जगमेर र आमा सहुमाया विश्वकर्मा आफूलाई सम्हाल्न सक्नुभएको छैन ।
बुबा तिलकबहादुरले असोज ११ गते अन्तिम पटक विमलसँग कुराकानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, "भिडियो कलमा भएको कुराकानीका क्रममा छोराले अब तीन महिनाका लागि तालिममा पठाउन लागेको र त्यस अवधिभरि कुराकानी हुन नसक्ने बताएका थिए । तालिममा मोबाइल फोन लान दिँदैन त्यसैले चिन्ता नलिन र सबैजना राम्रोसँग बस्न भनेका थिए । त्यसयता विमलसँग सम्पर्क हुन सकेको छैन ।"
"विमलको मेसेन्जरमा न त अनलाइन देखाउँछ न त उसको नम्बरमा फोन लाग्छ । छोरोले तीन महिना कुराकानी हुँदैन भनेकाले फोन नलाग्दा पनि हामी घरका सदस्यलाई खासै चिन्ता लागेको थिएन", बोल्दाबोल्दै भक्कानिएका विमलका बुवा तिलकबहादुरले भन्नुभयो, "विमलसँगै रुसी सेनामा गएका रामचन्द्र श्रेष्ठ भागेर गत सोमबार नेपाल फर्किनुभएको छ । उहाँले पनि विमलसँग दुई महिनादेखि सम्पर्क नभएको र तालम अवधि नसकिँदै युद्ध मैदान पठाएको बताएपछि हाम्रो सातो गएको छ ।"
बङ्गुर फार्ममा घाटा लागेर ऋण लागेपछि विमलले जोखिम उठाए
विमल २०७८ मङ्सिर २५ गते एक होटलमा होम डेलिभरीको काममा दुबई जानुभएको थियो । गाउँमै सञ्चालन गर्नुभएको बङ्गुर पालन व्यवसायमा घाटा लागेर ऋण लागेपछि उहाँ दुबई जानुभएको थियो । १० कक्षासम्म पढ्नुभएका विमलले गाउँमै बङ्गुर फार्म खोलेका थिए । त्यसमा उहाँलाई घाटा लाग्यो । एकातिर बङ्गुर मर्ने अर्कोतर्फ भएका बङ्गुर समयमा नबिकेपछि उहाँलाई सात लाख रुपियाँ ऋण लाग्यो ।
स्वदेशमै केही गर्नुपर्छ भनेर बङ्गुर फार्म खोल्नुभएका विमलले यहाँ केही नहुने देखेपछि बिदेसिने मनसाय बनाउनुभयो र थप चार लाख रुपियाँ ऋण काढेर दुबई उड्नुभयो । दुबई पुगेको केही महिनापछि कोरोनाको समय परेर होटल खासै चलन । त्यहाँ पनि सोचेजस्तो कमाई नभएपछि उहाँ रुसी सेनामा जाने मन बनाएको बुवा तिलकबहारको भनाइ छ ।
रुसी सेनामा भर्ना हुने छोरोको निर्णयबाट परिवारका कोही पनि खुसी थिएन । रुस जानुपर्दैन, उता धेरै खतरा छ बरु घर फर्किन छोरोलाई आग्रह गरेको भन्दै उहाँले भन्नुभयो, "घरका सबैले सम्झायो । कसैले पनि रुस जान सल्लाह दिएन ।"
विमलले रुस जाने अडानबाट पछि नहटेपछि लेबनानस्थित शान्ति सेनामा रहेको जेठो छोरोले डेढलाख रुपियाँ दिएको बुबा तिलकबहादुरले बताउनुभयो ।
विमलको खोजी गर्न कांग्रेस सहमहामन्त्री यादवको चासो
सम्पर्कविहीन विमलको खोजीका लागि नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चासो देखाउनुभएको छ । बुधबार केमलीपुरस्थित विमलको घरमै पुगेर सहमहामन्त्री यादवले घटनाक्रमबारे विस्तृत जानकारी लिनुभएको हो । रुसी सेनामा भर्तीका विमल दुई महिनादेखि सम्पर्कविहीन भएको खबर प्राप्त भएपछि उहाँ विमलको खोजीका लागि पहलकदमी लिनुभएको हो ।
उहाँले विमलको उद्धारका लागि आफू हदैसम्म प्रयास गर्ने विश्वास दिलाउनुभयो । उहाँले विमलको घरबाटै परराष्ट्रमन्त्री एनपी साउदलाई फोन गरेर घटनाक्रम सुनाउनुभयो । सहमहामन्त्री यादवले परराष्ट्रमन्त्री साउदलाई विमलको अवस्था यकिन गरी सकुशल उद्धारका लागि यथाशीघ्र पहल गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, जति छिटो हुन्छ विमललाई सकुशल घर फर्काउने पहल गर्नुपर्यो । उहाँको घरको अवस्था एकदमै बिग्रिँदै गएको छ ।