बिन्दु थापा
पाल्पा, पुष ४ गते । नेपाली कांग्रेस पाल्पाले तानसेन नगरपालिकाको बोर्ड ढाकेर गरिएको पार्टीको जिल्ला सम्मेलनमा गम्भीर गल्ती भएको भन्दै माफी मागेको छ ।
पार्टी सभापति हिमालदत्त श्रेष्ठले विज्ञप्तिमार्फत माफी माग्दै सम्मेलनका लागि नगरपालिकाको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको तर हल बाहिर रहेकाले कुरा सुन्न नपाएको भन्दै गुनासो गरेपछि बार्दलीमा लगिएको जनाएको छ ।
‘त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर त्रुटि भएको बताउँदै, यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती भएकोमा त्यसप्रति माफी मागिएको छ । पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौँ’ विज्ञप्तिमा उल्लेख छ । नगरपालिकालाई विवादमा ल्याउनु कुनै उद्देश्य नभएको प्रष्ट पारिएको छ ।