गजेन्द्र गुरुङ
खजुरा, पुस ४ गते । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको छ । नगरवासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाउन सो अभियान चलाएको जनाएको छ ।
पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको छ । पर्चा पम्प्लेट वितरण र माइकिङ्ग गर्दै फोहोर जथाभाबी नफाल्न सचेत बनाइएको छ । घरधनी, पसल व्यवसायी लगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत बनाइएको हो ।
सडकमा जथाभाबी फोहोर फालेमा अबदेखि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना गरिने नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय, वडा अध्यक्षहरू, होटल व्यवसायी, सरसफाइ अभियन्ता, नगर प्रहरीसहित आजदेखि सडकमै उत्रेर नेपालगञ्ज उपमहानगरपालिकाले घरदैलो सुरु गरेको छ । “नगरवासीलाई सचेत बनाउन हिँडेका छौँ, पटक–पटक यो कुरा भन्दैआएका छौँ, अब यो अन्तिम पटक हो, भोलिदेखि जथाभाबी फोहोर फालेमा कारबाही गर्छौँ, ऐनअनुसार ५ हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना हुन्छ” नगर प्रमुख विष्टले भन्नुभयो ।
अटेर गरेमा पसल व्यवसाय समेत बन्द गरिदिने चेतावनी दिइएको छ । पटक पटकको प्रयासपछि केही सुधार भए पनि अपेक्षित परिणाम नदेखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको हो । नगरवासी आफैँ सचेत र जागरूक हुनुपर्नेमा पटक–पटक भनिरहँदा पनि जथाभाबी फोहोर फाल्नेक्रम नरोकिएपछि सचेतनासँगै कारबाहीको नीति अख्तियार गर्नुपरेको उहाँको भनाइ छ ।
घरदैलोमा उपस्थित हुनुभएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नगरलाई सफा राख्ने दायित्व हरेक नागरिकको भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन अभियानमा सबै इमान्दार बन्नुपर्ने बताउनुभयो । यो अभियानमा स्थानीय प्रशासनको दरिलोसाथ रहेको पोखरेलको भनाइ छ ।
पहिलो चरणमा स्याम्पलिङ्गको रूपमा चारबाहिनीदेखि कल्पत्रुलाई रोजिए पनि नगरभरि नै अभियान सञ्चालन गरिने वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो । “अब हामी अन्तिम पटक सचेत बनाउँछौँ, पम्प्लेट वितरण गरेका छौँ, माइकिङ्ग गरिरहेका छौँ, अब पनि अटेर गरे कारबाहीको दायरामा ल्याउँछौँ” डिसीले भन्नुभयो ।
‘आफ्नो फोहोर आफ्नै डस्टविनमा’ अभियान सुरु गरेर नेपालगञ्ज उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यमा हातेमालो गरिरहनुभएका सरसफाइ अभियन्ता गोपाल गिरीले अटेर गरे अब तत्काल जरिवाना लगाउनुपर्ने बताउनुभयो । “सचेतीकरण धेरै भइसक्यो, अब एक्सनमा जानुपर्छ, फोहोर गर्ने अधिकार कसैलाई छैन, नगरवासीहरू गैरजिम्मेवार बन्न मिल्दैन” गिरीले भन्नुभयो ।
घरदैलो अभियानमा वडा ८ का वडा अध्यक्ष रजनिश बाजपेयी (विवेक), वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, वडा १० का वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठ, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीलगायत सहभागी हुनुभएको थियो ।