वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, पुस ४ गते । बाङ्गे–नडाहा हुँदै धरान जोड्ने सडकको निर्माण कार्य सुरु भएको छ । गत जेठबाट सुरु भएको सडक बनाउने कामले तीव्रता लिन थालेको हो । वराहक्षेत्र नगरपालिका–३, बाङ्गेदेखि धरान १७ जोड्ने कालोपत्रे सडक बनाउने कामले पछिल्लो समय गति लिन थालेको छ ।
बाङ्गेदेखि धरान जोड्ने साढे नौ किलोमिटर कालोपत्रे सडक निर्माणको काम थालिएको छ । पहिलो चरणमा बाङ्गेदेखि नडाह हुँदै छ किलोमिटरको निर्माण हुने भएको छ । सडकमा पर्ने कल्भर्ट र सडक साइटको वाल उठाउने काम भइरहेको वराहक्षेत्र–३ का वडाध्यक्ष राजदीप लामाले जानकारी दिनुभयो ।
डबल लेनको १० मिटर चौडाइ भएको सडक निर्माण हुने सडकका प्रोजेक्ट मेनेजर नवीनसिंह माझीले बताउनुभयो । प्रजेक्ट मेनेजर माझीका अनुसार पहिलो प्लमकङ्व्रिmट ढलानको काम सकेपछि कल्भर्ट, ड्रेनको काम सुरु हुने छ । सडक निर्माणमा चार लेयर (तह) को काम हुने भएकाले प्रत्येक लेयरको काम भएपछि मात्रै कालोपत्रे हुने छ । सडक निर्माण गर्दा सडकलाई चाहिने आवश्यक मापदण्ड अनुसार निर्माण गर्न सडक क्षेत्रका दुवैतर्फका स्थानीयले अवरोध नगर्ने भएकाले सडक समयमै निर्माण सम्पन्न हुने वडाध्यक्ष लामाले बताउनुभयो ।
सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा कालोपत्रे सडकको योजना परेर निर्माणको काम अगाडि बढेको वडाध्यक्ष राजदीप लामाले बताउनुभयो । लामाले भन्नुभयो, “बाङ्गेदेखि छ किलोमिटर सडक कालोपत्रे हुने छ । आगामी असार मसान्तसम्म बाङ्गेदेखि नडाहा चोकसम्म पिच भइसक्ने लक्ष्यका साथ काम भइरहेको छ ।” बाङ्गे नडाहा धरान सडकको कालोपत्रे सात मिटरको हुने छ । निर्माण व्यवसायी प्रोजेक्ट रनिङ इनफास्ट्रक्चर प्राइभेट लिमिटेड ललितपुरले १३ करोड ३९ लाख ५४ हजार आठ सय ५६ रुपियाँ ५६ पैसामा ठेक्का पारेर काम गर्दै आएको छ । इन्फास्ट्रक्चर प्राइभेट लिमिटेडले २०८९ वैशाख १५ देखि सडकको काम सुरु गरेर २०८१ चैत ३० गते काम सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सडक बनेपछि वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ३ देखि वडा नम्बर ११ र सुनसरीको कोशी गाउँपालिकासम्मका स्थानीयलाई धरानसम्म आवतजावत गर्न र नगर क्षेत्रमा उत्पादन भएका कृषि उपज बिव्रmी वितरण गर्नसमेत सहज हुने वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की बताउनुभयो ।