• १४ मंसिर २०८१, शुक्रबार

सडक निर्माण ढिलाइप्रति सरोकारवालाको चासो

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस ४ गते । झापाको दमकबाट इलामको चिसापानी हुँदै पाँचथरको रवि जोड्ने फाल्गुनन्द सडक निर्माणमा भएको लापरबाही तथा ढिलासुस्तीको विषयमा सम्बन्धित सरोकारवाला निकायबिच छलफल भएको छ । बजेट पर्याप्त हुँदासमेत निर्माण व्यवसायीको तर्फबाट काममा ढिलासुस्ती भएको छ ।

निर्माण सुरु भएको तीन दशक कट्दा पनि सडक निर्माण पूरा हुन सकेको छैन । यो तीन दशकमा दमकदेखि घर्ती दोभानसम्म रतुवा खोला नै खोला कुदाउनुपर्ने सवारीसाधन भने सडकको ट्र्याक खुलेपछि सोही ट्र्याकबाट कुदाउन थालिएको छ ।

दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेको पनि वर्षौं भइसकेको छ । दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर कालोपत्रेका लागि लागेको ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन ।

इलामको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष एवं सडक निर्माण उपभोक्ता समितिका पदाधिकारी समेत रहनुभएका हेमन्त राईका अनुसार जिल्ला प्रशासन कार्यालय इलाममा सोमबार यस विषयमा गहन छलफल भएको छ । ३३ किलोमिटर सडक ३३ वर्षमा पनि नबन्नु लज्जास्पद विषय हो, उहाँले भन्नुभयो । कतिपय ठाउँमा बजेट अभावले सडक अलपत्र परेको सुनिन्छ यहाँ बजेट भएर पनि सडक अलपत्र परेको छ, उहाँले भन्नुभयो ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सरोकारवाला निकाय र निर्माण व्यवसायीलाई समेत बोलाएर छलफल गराएको जानकारी दिनुभयो । अब पनि काम नभए जनप्रतिनिधि आफैँ आएर सडकमा आन्दोलन गर्नुपर्ने अवस्था आउने जानकारी गराएको छ, उहाँको भनाइ छ । कालोपत्रेका लागि निर्माण सम्झौता भएको पाँच वर्षमा आधा पनि काम भएको छैन ।

पटक पटक ढिलासुस्तीको विषयमा पालिकाले जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकयमा पत्रचार गर्दा पनि सुनुवाइ नभएको र पहिलो पटक यसरी छलफल भएको समेत उहाँले जानकारी दिनुभयो । सडकको आधाभन्दा बढी क्षेत्र माङ्सेबुङ गाउँपालिकामा नै पर्छ । वर्षामा सडक अवरुद्ध हुँदा पालिकाले खर्च गरेर बाटो मर्मत गर्नुपर्ने अवस्था छ, उहाँले गुनासो गर्नुभयो ।

सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी एवं इन्जिनियर गौतमकुमार देवका अनुसार निर्माण व्यवसायीले ढिला काम गरेकोमा जरिबानासहित काम अघि बढाउने प्रतिबद्धता उक्त छलफलमा गरेका छन् । सरोकारवालाको उपस्थितिमा स्थलगत निरीक्षण गरेर कामलाई गति दिने निर्णय भएको छ, उहाँले भन्नुभयो । अब पनि काम नभएमा ठेक्का तोडेर कारबाही प्रव्रिmयामा जानुको विकल्प रहँदैन, उहाँले भन्नुभयो ।

सडकको चिसोपानीदेखि घर्ती दोभानसम्मको सडकमा सवारीसाधन नै चल्न नसक्ने गरी बिग्रिएकाले उक्त सडकखण्डको मर्मत कार्य आगामी पुस १० गतेभित्र सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको छ ।

उक्त निर्माणाधीन सडकको निर्धारित समयावधिमा समेत निर्माण कार्य सम्पन्न हुन सक्ने अवस्था नदेखिएकाले सम्बन्धित निर्माण कम्पनी (गणपति कन्स्ट्रक्सन र किराँतेश्वर कन्स्ट्रक्सन कम्पनी) बाट तीन खण्डमा (कुल लम्बाइ ३३ किमि) रहेको सडकलाई तोकिएको गुणस्तरमा आगामी वर्षायाम अगाडि नै निर्माण सम्पन्न गर्न अनुरोध गर्ने निर्णय भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।

सडक डिभिजन कार्यालय दमकका अनुसार सडक कालोपत्रेका लागि तीन खण्डमा काम गर्ने गरी निर्माण सम्झौता भएको थियो । दमकको प्रथम बिन्दुबाट सात किलोमिटर पहिलो प्याकेजका महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २०७५ साल साउन अन्तिममा सम्झौता गरेको थियो । चार पटक म्याद थप्दा पनि काम आधाभन्दा केही बढी भएको छ ।

दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किलोमिटर सडक निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दोस्रो खण्ड ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो खण्ड ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको थियो ।