• १५ मंसिर २०८१, शनिबार

झुटा उजुरीकर्तालाई कारबाहीको माग

blog

तम्घास समाचारदाता

तम्घास, पुस ४ गते  । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा झुटा उजुरी दिनेलाई कारबाही गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले इस्मामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनसम्बन्धी स्थानीय तह स्तरीय अन्तर्क्रिया कार्यक्रममा राजनीतिक आस्था र दुःख दिने नियतले उजुरी राख्नेलाई कारबाही गर्नुपर्ने सुझाव आएको हो ।

इस्मा गाउँपालिका–४ का चन्द्रबहादुर महतले बेनामी उजुरी राख्ने र दुःख दिने नियतले उजुरी दिनेलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । झुटा उजुरी दिने उनीहरूलाई पनि कारबाहीको केही व्यवस्था नभएमा उजुरीका चाङ लाग्दै जाने बताउनुभयो । वडा नम्बर ५ का वडाध्यक्ष झविन्द्र अर्यालले व्यक्तिगत र राजनीतिक आस्थाका आधारमा उजुरी दिने प्रचलन बढ्दै गएको बताउनुभयो । इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले स्वच्छ मनले काम गरेमा कसैसँग पनि डराउन नपर्ने र अख्तियारमा उजुरी प-यो भन्दैमा कुनै योजनाका काम नरोकिने बताउनुभयो । निर्माणमा गुणस्तरीय र लागत अनुमान अनुसारको काम गर्नुपर्ने भन्दै दायाँबायाँ गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।

अख्तियार बुटवल कार्यालयका उपसचिव ठाकुरप्रसाद आचार्यले कार्यालयमा उजुरी परेपछि छानबिन गर्नुपर्ने बताउनुभयो । कसैले दुःख दिने नियत र झुटा उजुरी भन्ने कुरा छानबिनपछि मात्र थाहा हुने भएकाले अनुसन्धानका क्रममा सही र झुटा भन्न नसकिने बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्नका लागि अख्तियारले मात्र नसक्ने भएकाले सबैको साथ आवश्यक रहेको उहाँले आग्रह गर्नुभयो ।

गुल्मी जिल्लाका ८६ उजुरीमध्ये ५८ वटा फस्र्योट भइसकेका छन् भने बाँकी प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । शिक्षा, भवन निर्माण, स्थानीय तहका उजुरी बढी छन् ।